
काठमाडौं : माओवादी सशस्त्र द्वन्दको आधार क्षेत्र मानिने प्रदेश ५ का दुई जिल्लामा पहिलो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। माओवादीको पकड जिल्लाका रुपमा रहेका रोल्पा र पूर्वी रुकुममा पहिलो चरणमा निर्वाचन हुँदैछ। प्रदेश ५ का १२ जिल्लामध्ये दुई वटामा मात्र पहिलो चरणमा निर्वाचन हुनेछ।
कान्छो जिल्ला पूर्वी रुकुम वाम गठबन्धनका तर्फबाट माओवादी नेतृ कमला रोका चुनावी मैदानमा छिन्। लोकतान्त्रिक गठबन्धनका तर्फबाट हरिशंकर घर्ती मगर प्रतिस्पर्धामा छन्।
रोल्पामा माओवादीका प्रभावशाली नेता वर्षमान पुन चुनावी मैदानमा छन्। वाम ठबन्धनका उम्मेदवार पुनसँग लोकतान्त्रिक गठबन्धनका अमरसिंह पुन चुनावी मैदानमा छन्। अमरसिंह बाहलवाला सिँचाइ राज्यमन्त्री पनि हुन्।
२०७० को संविधानसभा सदस्यमा रोल्पा र रुकुममा चार निर्वाचन क्षेत्र थिए। चारै क्षेत्रमा माओवादी भारी मतान्तरले विजयी भएको थियो।
अहिले रोल्पामा एक मात्र निर्वाचन क्षेत्र छ। संघीय संरचनामा जिल्ला विभाजन हुँदा रुकुमलाई पूर्वी र पश्चिम गरी दुई जिल्ला बनाएको छ। कान्छो र सानो जिल्ला पूर्वी रुकुम वाम गठबन्धनमा माओवादी केन्द्रकै भागमा परेको छ।
माओवादीको आधार र पकड क्षेत्रमा अहिले एमालेले पनि माओवादीलाई नै साथ दिएको छ। दुई वामपन्थी दलको गठबन्धनले कांग्रेसलाई थप दबाब छ। कुनै अप्रत्याशित नतिजा नआए दुवै क्षेत्रमा माओवादी उम्मेदवार विजयी हुने देखिन्छ।
पछिल्लो स्थानीय तहको मतपरिणामा पनि रोल्पा र पूर्वी रुकुम दुवै जिल्लामा माओवादी अन्य दलभन्दा निकैअघि छ। रुकुमका सबै स्थानीय तह माओवादीले क्लिनस्वीप गरेको थियो। रोल्पामा भने माओवादीले ६ स्थानीय तहमा जित हासिल गरेको थियो। एमालेले २ र कांग्रेसले एक स्थानीय तहमा जितेको थियो।
यस्तो छ स्थानीय तहको वडागत मत
रोल्पा
नौँ स्थानीय तह रहेको रोल्पामा वडागत मतमा निकटत कांग्रेसभन्दा माओवादी केन्द्र ११ हजार ३९२ मतले अघि छ। एमालेले रोल्पामा १२ हजार ९५७ मत पाएको थियो।
कांग्रेस २२ हजार २८२
एमाले १२ हजार ९५७
माओवादी ३३ हजार ६७४
राप्रपा एक हजार ५९०
स्वतन्त्र एक हजार १२५
पूर्वी रुकुम
पूर्वी रुकुममा माओवादी केन्द्र स्थानीय तहमा ऊसँग निकटतम रहेको एमालेभन्दा दोब्बर मतले अघि छ। माओवादीको ९ हजार ३२९ मत छ। रुकुम पूर्वमा एमालेको चार हजार १७६ र कांग्रेसको दुई हजार ८८८ मत छ। वाम गठबन्धनमा माओवादी र एमालेको मत एकीकृत हुँदा कांग्रेस उम्मेदवारको जित करिव सम्भव छैन।
कांग्रेस दुई हजार ८८८
एमाले चार हजार १७६
माओवादी ९ हजार ३२९