PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

अर्बपति चौधरी कांग्रेसको समानुपातिक सूचीमा, ओलीका कारण एमालेबाट टाढा



पहिलोपोस्ट

अर्बपति चौधरी कांग्रेसको समानुपातिक सूचीमा, ओलीका कारण एमालेबाट टाढा

काठमाडौं :  उद्योगपति विनोद चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन्। उनलाई समानुपातिक सूचीबाट सांसदको उम्मेद्वार बनाएको कांग्रेसका संसदीय बोर्डका एक सदस्यले पुष्टि गरे।

चौधरी एक दशकपछि राजनीतिमा फर्किएका हुन्। २०६४ सालको संविधान सभा निर्वाचनमा एमालेले उनलाई  समानुपातिक सभासद बनाएको थियो। २०७० सालको चुनावमा उनी प्रत्यक्षबाट उम्मेद्वार बन्ने चर्चा चलेको थियो। तर, उम्मेद्वारी भने दिएनन्। 

 एमालेभित्र माधव नेपाल निकट रहेका उनी केपी ओली पावरमा आएसँगै ‘कर्नरिङ’मा परेका थिए। ओलीले उपेक्षा गरेपछि उनी एमालेबाट क्रमशः टाढा हुँदै गएका थिए। एमाले नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीका प्रिय रहेका चौधरीको कांग्रेस नेतासँग पनि सुरुदेखि नै निकट सम्बन्ध थियो। 
 
अहिले चौधरीलाई आफ्नो दलमा ल्याउने कांग्रेस महामन्त्री सशांक कोइरालाले विशेष पहल गरेका थिए। कोइरालाको निर्वाचन क्षेत्र नवलपुर १० मा चौधरीको उद्योग ग्राम रहेको छ।

कोइरालासहित नेता रामचन्द्र पौडेल एवं बालकृष्ण खाँडलगायतले पनि चौधरीलाई कांग्रेसमा ल्याउन पहल गरेको स्रोतले जानकारी दियो। चौधरी आफ्नो दलमा प्रवेश गरेको बारे कांग्रेसले सोमबार दिउँसो विज्ञप्ती जारी गर्ने स्रोतले बताएको छ। 
 
चौधरी प्रसिद्ध म्यागेजिन फोर्ब्सको अर्बपति सूचीमा परेका एक मात्र नेपाली व्यवसायी हुन्। फोर्ब्सका अनुसार उनको अहिलेको सम्पत्ति एक अर्ब ३० करोड अमेरिकी डलर (एक खर्ब ३५ अर्ब रुपैयाँ हाराहारी) रहेको छ।

टाटा समूहको सहकार्यमा उनले एसिया, अमेरिका, अफ्रिका लगायत विभिन्न मुलुकमा होटल सञ्जाल विस्तार गरेका छन्। त्यसबाहेक वाइवाइ चाउचाउलाई पनि विश्वभर फैलाउने मिसन लिएका छन्। भारतका विभिन्न राज्यमा वाइवाइको उद्योग स्थापना गरिसकेका चौधरीले केही समयअघि युरोपमा समेत प्लान्ट स्थापना गरेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell