काठमाडौं : बिहीवार रिलिज भएको फिल्म 'ऐश्वर्य'ले करोडमाथि कलेक्सन गरेको फिल्म युनिटको दाबी छ। फिल्मले आइतबारसम्म २ करोड ग्रस कलेक्सन गरेको छ।
फिल्मले पहिलो दिन बिहीवार उपत्यकामा २८ लाख ८६ हजार १ सय ७ रुपैयाँ र मोफसलमा १९ लाख ३० हजार ५ सय ७५ को व्यापार गरेको बिक्रेता डिसिएनले जानकारी दिएको हो। डिसिएनका अनुसार दोस्रो दिन शुक्रबार उपत्यकामा ३२ लाख ६६ हजार ७ सय ४३ र मोफसलमा २४ लाख ८३ हजार ३ सय ५० को व्यापार गर्न सफल भएको हो। तेस्रो दिन शनिवार पनि उपत्यकामा ५६ लाख ६४ हजार ५ सय ३७ र मोफसलमा ३९ लाख ६६ हजार १ सय ७२ को व्यापार गर्यो। फिल्मले तीन दिनमा २ करोड १ लाख ९७ हजार ४ सय ८४ को ग्रस कलेक्सन गर्न सफल भएको छ।
फिल्मको लगानी एक करोड पचास लाख भएको दाबी छ। लगानीकर्ता रमेश उप्रेती भन्छन्, 'फिल्मले कमाएकोमा हर्षित छु, फिल्मलाई दर्शकले मन पराए, त्यसैले झन् हर्षित छु।’
निर्मातासँगै कलाकार रहेका रमेश थप्छन्, ’फिल्मको मेकिङको सर्वत्र चर्चा छ, त्यो सुखद् पक्ष हो।’ फिल्ममा रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाईं, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, विकास खतिवडा, तेन्जु योन्जन लगायतको अभिनय रहेको छ।
रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन्। निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ। फिल्मलाई राजेश श्रेष्ठ र सुदीप बरालले खिचेका हुन्।