PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

२७ दिन बाँकी रहँदा अलग मतपत्र छाप्ने निर्णय : होला तोकिएकै मितिमा निर्वाचन?



रमेश वाग्ले

२७ दिन बाँकी रहँदा अलग मतपत्र छाप्ने निर्णय : होला तोकिएकै मितिमा निर्वाचन?

काठमाडौं : सर्वोच्च अदालतको आदेशपछि निर्वाचन आयोग प्रत्यक्षतर्फ प्रदेश र प्रतिनिधि सभाका लागि छुट्टाछुट्टै मतपत्रको डिजाइन बनाउँन व्यस्त छ। 

सर्वोच्च अदालतले प्रत्यक्षतर्फ छुट्टाछुट्टै मतपत्र छपाइको प्रगति सोधेपछि निर्वाचन आयोग निर्णय सच्याउँदै दुई वटा मतपत्र छपाइमा लागेको हो। 

आयोग आजै सर्वोच्च अदालतमा जवाफ बुझाएर दुईवटा मतपत्र छाप्ने, छापिएका प्रचार सामग्री तथा मतपत्र नष्ट गर्ने लगायतका निर्णय सार्वजनिक गर्ने तयारीमा छ। केही दिनभित्रै मतपत्र छपाइमा जाने र तोकिएकै मितिमा निर्वाचन गर्ने तयारीमा रहेको आयोगलाई अब प्रत्यक्षतर्फ दोब्बर मतपत्र छापेर मात्र पुग्ने अवस्था छैन। 


आयोगले बनाएको पुरानो नमूना मतपत्र

के-के प्रभावित हुन्छ?

निर्वाचन आयोगले अहिलेसम्मको तयारीमध्ये समानुपातिकतर्फको मतपत्र मात्र प्रयोग हुन्छ। अन्य सामग्रीदेखि थप कर्मचारीसम्म व्यवस्थापन गर्नु आयोगका लागि झण्झटको विषय बन्नेछ। 

आयोगले समानुपातिकतर्फ छापेका १ करोड ७५ लाख मतपत्र काम लाग्ने छ। तर त्यसको दोब्बर अर्थात् तीन करोड ५० लाख मतपत्र प्रत्यक्षतर्फ छाप्नुपर्छ। 

दोब्बर मतपत्र छापेसँगै आयोगले अहिलेसम्म निर्वाचनको प्रचारका लागि तयार पारेका सामग्री पनि औचित्यहिन हुनेछन्। मतपत्रको डिजाइन, मतदान केन्द्र, मत संकेत गर्ने तयारीदेखि मतदाता शिक्षा सामग्रीसम्म परिवर्तन गर्नुपर्दा आयोगलाई अब भ्याइ नभ्याइ हुने अवस्था छ। 

'मतदान केन्द्रको लेआउट परिवर्तन गर्नुपर्छ। मतदान केन्द्रबारे जानकारी दिने पोष्टरदेखि मतदाता शिक्षा कार्यकर्ताका लागि सहयोगी पुस्तिका, निर्वाचनमा बारम्बार सोधिने प्रस्नहरु (एफएक्यु), नमूना मतपत्र परिवर्तन गर्नुपर्छ,' निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले भने, 'अरु विषयमा त मलाई ठ्याक्कै थाहा भएन। तर प्रचारप्रसार र निर्वाचन शिक्षाका लागि बनाएका सामग्रीमा मात्र अब १० करोड क्षति हुन्छ।' उनले त्यसबाहेक पनि थुप्रै प्रश्न रहेको बताए। 

'मतदानका लागि पनि बढी ठाउँ चाहियो। मतदानका लागि समय बढी लाग्ने भयो। मतपेटिका थप गर्दा करिब दुई लाख त शिल मात्र थप गर्नुपर्छ,' अर्यालले भने। 

उनले समय थप लाग्ने कारण बिहान सात बजेदेखि साँझ पाँच बजेसम्मको अवधिमा एक मतदान केन्द्रमा न्यूनतम १ हजार ६४ जनाले भोट हाल्ने हुँदा त्यो समय पर्याप्त हुन्छ कि हुँदैन भन्ने पनि यकिन भइनसकेको बताए। 

निर्वाचन आयोगले १ हजार ६४ मतदातासम्मलाई एउटा मतदान केन्द्र तोक्ने मापदण्ड बनाएको छ। त्यही आधारमा निर्वाचन आयोगले १० हजार ६ सय ७१ मतदान स्थलमा १९ हजार ८ सय ९ मतदान केन्द्र कायम गरेको छ। 

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र छाप्ने भएपछि आयोगले अब चार सय ९५ प्रकारका मतपत्रको डिजाइन गर्नुपर्छ। प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारको संख्या फरक पर्ने भएकाले प्रतिनिधिसभा निर्वाचनका लागि एक सय ६५ प्रकारका र प्रदेशसभा तर्फ ३ सय ३० प्रकारका मतपत्र छाप्नुपर्छ। 

त्यससँगै अब कम्तिमा पनि १९ हजार ८ सय नौ अर्थात् करिब २० हजार मतपेटिका थप गर्नुपर्छ। मतपेटिका थप गरेसँगै प्रत्येक केन्द्रमा थप मतपेटिका राखेपछि थप मतदान अधिकृत, सहायक मतदान अधिकृतहरु, सहयोगी कर्मचारी र सुरक्षाकर्मी आवश्यक हुन्छ। 

त्यससँगै निर्वाचन सामग्रीहरु, स्ट्याम्प प्याड, स्वस्तिक छाप, त्यसमा प्रयोग हुने मसीसहित सबै प्रकारका सामग्री थप गर्नुपर्ने हुन्छ। 

यसका कारण करिब ६ लाख नमूना मतपत्र नष्ट हुने भएका छन्। मतदाता शिक्षाका लागि आयोगले १२ लाख सामानुपतिकतर्फ र ६ लाख प्रत्यक्षतर्फका नमूना मतपत्र छापेकोमा प्रत्यक्षतर्फका ६ लाख नमूना मतपत्र नष्ट गर्नुपर्ने भएको आयोगले जनाएको छ। 

समय छँदै पर्याप्त बहस भए पनि दुईवटा मतपत्र छापेर निर्धारित मितिमा निर्वाचन गराउन सम्भव नभएको भन्दै तयारी गरेको आयोग पहिलो चरणमा हुने निर्वाचनको २७ दिन अघिदेखि सबै तयारी पुनः सुरुवात गर्ने अवस्थामा पुगेको हो। अब आयोगले निर्वाचन तयारी समानुपातिक मतपत्र बाहेक, नियम, विनियम, निर्देशिका, मतदाता शिक्षा सामग्री, प्रशिक्षक प्रशिक्षणदेखि सबै तयारी शून्यबाट गर्नुपर्ने अवस्था सिर्जना भएको छ। 

पहिलो चरणको निर्वाचन मंसिर १० गते र दोस्रो चरणको निर्वाचन मंसिर २१ गते हुँदैछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell