पोखरा : मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीका राजनीतिक दलभित्र उम्मेदवार छनोटमा रस्साकस्सी सुरु भएको छ।
उम्मेदवार छनोटमा लोकतान्त्रिक र वाम गठबन्धनबीचमा रस्साकस्सी सुरु भएको हो। गठबन्धनभित्रकै पार्टीहरुमा उम्मेदवारीको दाबी गर्दै आन्तरिक संघर्ष चर्किएको हो।
वाम गठबन्धनको नेकपा एमालेमा माधवकुमार नेपाल र बामदेव गौतम पक्षलाई ओली पक्षले षड्यन्त्र गरेको भन्दै सुरु भएको विवादले उग्ररुप लिएको छ। उम्मेदवार चयनमा जिल्लाले मनोमानी गरेको भन्दै असन्तुष्ट पक्षले केन्द्रमा उजुरी हालेका छन्।
एमाले कास्कीले संस्थापन पक्षका नेतालाई मात्रै प्रदेश र प्रतिनिधि सभामा सिफारिस गरेको भन्दै नेपाल पक्षका नेताहरुले केन्द्रीय कार्यालयमा उजुरी हालेका छन्।
कास्कीबाट नेपाल पक्ष सिफारिसमै ‘क्लिन स्विप’ भएको थियो। प्रदेश सभाका आकांक्षी श्रीनाथ बराल, प्रतिनिधि सभा सदस्य उम्मेदवारका आकांक्षी सांसद सीता गिरी वली, तुलबहादुर गुरुङ, प्रदेशसभाकै आकांक्षी विजयबाबु वनवासी र पुण्य पौडेलले छुट्टाछुट्टै उजुरी केन्द्रीय कमिटीमा पठाएका हुन्।
एमाले कास्कीले प्रजातान्त्रिक प्रणाली अनुसार उम्मेदवार सिफारिस गरे पनि नेपाल पक्षले भने षड्यन्त्रपूर्वक पराजित गरेको भन्दै ‘पार्टीभत्रको सत्ताको चरम दुरुपयोग’ भएको आरोप लगाएको छ।
केन्द्रमा उजुरी गर्ने नेताहरु मध्ये पुण्य पौडेल र श्रीनाथ बराल जिल्ला विकास समिति कास्कीका पूर्वसभापति र उपसभापति हुन्। त्यसैगरी सीता गिरी र तुलबहादु गुरुङ निवर्तमान सांसद हुन्। तुलबहादु गरुङ यसअघि राज्यमन्त्रीसमेत भएका थिए।
लोकतान्त्रिक गठबन्धनमा पनि उम्मेदवारी छनोटमा रस्साकस्सी चलेको छ। कास्कीका प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ वटा गरी नौ निर्वाचन क्षेत्रमा गठबन्धन पार्टीबीच निर्वाचन क्षेत्र बाँडफाँटमा हानथाप भएको छ।
कांग्रेसले प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर एकबाट कानुन मन्त्री यज्ञबहादुर थापा र तारानाथ रानाभाट मध्ये एकलाई उठाउने भएको छ भने दुईबाट शोभियतबहादुर अधिकारी, देबराज चालिसे मध्येबाट एकलाई उठाउने भएको छ।
त्यस्तै क्षेत्र नम्बर ३ बाट शुक्रराज शर्मा र शारदा पौडेल मध्ये एकलाई उठाइने भएको छ। प्रदेश सभाको उम्मेदवारी छनोटमा कांगे्रसमा अझै हानथाप चलिरहेको बताईएको छ।
प्रतिनिधिसभामा तीन र प्रदेशसभा ६ गरी ९ वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा एमालेले माओवादीको भन्दा दोब्बर बढी ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ।
दुवै पार्टीका शीर्ष नेतृत्वको बैठकले कास्कीमा एमालेलाई ३ वटै प्रतिनिधिसभा र थप ३ वटा प्रदेशसभा दिने निर्णय गरेको छ भने माओवाादीले प्रदेशसभा अन्तर्गतका ३ वटा क्षेत्र मात्रै पाउने भएको छ। यसअघि एक प्रतिनिधिसभा र २ प्रदेशसभा मागेको माओवादीले प्रदेशसभामा मात्रै चित्त बुझाएको हो।
माओवादीलाई क्षेत्र नम्बर १ (क), क्षेत्र नम्बर २ (ख) र क्षेत्र नम्बर ३ (क) दिईएको छ भने बाँकी सबै क्षेत्र एमालेले लिएको छ। क्षेत्र टुंगिएपछि यतिबेला माओवादीभित्र उम्मेदवार छनोट बढी चर्चाको बिषय बनिरहेको छ।
माओवादीले क्षेत्र नम्बर २ (ख) मा पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङलाई उठाउने निर्णय गरेको छ भने बाँकी २ क्षेत्रमा छलफल भईरहेको छ । यद्दपी एक नम्बर क्षेत्रको प्रदेशतर्फ (क) मा झलकपाणी तिवारीलाई उम्मेदवार बनाउने बुझिएको छ।
यो क्षेत्रमा जिल्ला अध्यक्ष दीपक कोइरालाको पनि दावी छ। तिवारीलाई समानुपातिकमा लगेर कोइरालालाई प्रत्यक्षतर्फको टिकट दिन सक्ने सम्भावना पनि छ।
क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा (क) मा रामजी बराल लगभग टुंगिएका छन्। स्थायी कमिटीमा छलफल भईरहेकाले पार्टीको निर्णय लगत्तै उम्मेदवार सार्वजनिक हुने एक नेताले बताए।
एमालेले भने प्रतिनिधि सभा सदस्यका लागि एक नम्बर क्षेत्रमा खगराज अधिकारी र दुई नम्बरका लागि रवीन्द्र अधिकारीलाई सर्वसम्मत गरिसकेको छ भने ३ नम्बरमा जगत विश्वकर्मालाई उम्मेदवार बनाउने तयारी छ।
प्रदेश सभाअन्तर्गत १ (ख) मा जिल्लन उपाध्यक्ष मनबहादुर गुरुङ, २ (क) मा अध्यक्ष कृष्ण थापा, ३ (ख) मा राजीव पहारी उम्मेदवार बन्ने लगभग टुंगिएको छ। तर, लोकतान्त्रिक खेमाले भने अझै खाका नै सार्वजनिक गरेको छैन।