राजविराज : अगामी मंसिरमा हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि टिकट वितरणमा भेदभाव भएको भन्दै राजपा (नेपाल)का नेता लक्ष्मण यादव दुई दिनदेखि आमरण अनशनमा बसेका छन्।
राजपा सप्तरी क्षेत्र नं २ का सभापतिसमेत रहेका यादवले नातावाद, पहुँच र व्यक्तिवादका आधारमा पार्टीले टिकट वितरण गरेको आरोप लगाएको छ।
जनआन्दोलन र मधेश आन्दोलनका अगुवाइलाई पाखा लगाउँदै नेताहरूले आसेपासे र पहुँचवालालाई टिकट वितरण गरेको आरोप लगाउँदै यादव राजविराजस्थित गजेन्द्र चोकमा अनशनमा बसेका हुन्।
विसं २०४८ देखि तत्कालीन सद्भावना पार्टीबाट राजनीतिमा लागेका उहाँ स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिकाको प्रमुख पदका आकांक्षी थिए।
“नेतृत्वले प्रतिनिधि वा प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनाउने आश्वासन दिएको थियो,” उनले भने। सातबुँदे मागअघि सार्दै उनी अनशनमा बसेका हुन्। रासस