काठमाडौँ : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हानिएको ठाउँ खरिबोट नजिकै रहेको उनको कार्यालय अहिले शून्य छ।
भित्ताभरी सजाइएका प्रशंसा पत्र, प्रमाणपत्रको अगाडि एउटा कुर्सी रित्तो छ। एक दशक अघिदेखि यही कुर्सीमा बसेर काम गरिरहेका हुन्थे गौचन।
'अनुसन्धानमा छौं, दुई तीन दिनमा नै हत्यारा पत्ता लगाउछौँ। त्रसित व्यवसायीहरुलाई प्रहरीको जवाफ यही छ। तर, गौचनको राजधानीमा दिनदहाडै हत्या भएको २२ दिन भइसकेको छ।
प्रहरीले अझैसम्म हत्या कसले र किन गर्यो भन्ने पत्ता लगाउन सकेको छैन। मनोज पुनले नै गौचनको हत्या गरेको भन्दै खोजी कार्य भइरहेको प्रहरीले व्यवसायीलाई बताउँदै आएको छ।
एक व्यापारी सुनाउँछन्, 'हामी प्रहरीको सम्पर्कमा नै छौं, मनोज पुनले हत्या गरेको र भारतमा भएकाले खोज्न पठाएको केही दिनमा पत्ता लाग्ने दावी प्रहरीले सुनाउँछन्।'
गौचनलाई गोली हानी हत्या गरिएपछि अरु निर्माण व्यवसायीहरु पनि निर्धक्क भएर काम गर्न सकिरहेका छैनन्। निर्माण व्यवसायी तोपबहादुर श्रेष्ठ भन्छन्, 'हत्यारा पत्ता लागेको छैन। अध्यक्षज्युको हत्यापछि नो नम्बर देखिने नम्बरबाट हाम्रो साथीहरुलाई फिरौती माग्दै धम्की आइरहेको छ। कसरी ढुक्क भएर काम गर्नु !'
फिरौती माग गर्दै कल आएसँगै केही व्यवसायीले प्रशासनसँग सुरक्षा माग गरेपछि केही व्यापारीलाई सुरक्षाको व्यवस्था समेत गरिएको छ। तर हत्यारा पत्ता नलागेसम्म आफूहरु ढुक्क नहुने व्यापारी बताउँछन्।
'एक जना सुरक्षाकर्मी दिँदैमा कति दिन सुरक्षित होइएला? बुलेटप्रुफ गाडीमा चढे पनि निस्कँदा नहान्ला भन्ने ग्यारेन्टी नै भएन,' उनी सुनाउँछन्।
घटना भएको दिनै गठित प्रहरीको अनुसन्धान समितिले पनि कुनै प्रतिवेदन बुझाउन सकेको छैन। समितिले गहन रुपमा अनुसन्धान गरिरहेको संयोजक डिआइजी गणेश केसीले बताए।
उनले भने, 'अनुसन्धान सकारात्मक रुपमा अगाडि बढेको छ। केही समयमा नै प्रमाणसहित हत्यारा सार्वजनिक गर्ने गरि प्रहरीले अनुसन्धान गरिरहेका छौँ।