PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

चितवनका १६१ मध्ये ५२ मतदानस्थल अतिसंवेदनशील



पहिलोपोस्ट

चितवनका १६१ मध्ये ५२ मतदानस्थल अतिसंवेदनशील

चितवन :  चितवनका १६१ मध्ये ५२ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ। 

सुरक्षा समितिका सदस्य तथा प्रहरी उपरीक्षक दीपक थापाका अनुसार भारतीय सीमा नाका जोडिएका, भौगोलिक विकटता भएका र विगतको निर्वाचनमा केही असहज परिस्थिति देखिएका मतदानस्थललाई अतिसंवेदनशील मतदानस्थलको सूचीमा राखिएको हो। 

मतदानस्थलमा प्रहरी निरीक्षककै नेतृत्वमा जनपद र म्यादी प्रहरी परिचालन हुने थापाले जानकारी दिए। यसपटक मतदाताको आधारमा न्यूनतम ११ जनादेखि अधिकतम् ५० जनासम्म प्रहरी मतदान केन्द्रमा खटिने छन्। 

सशस्त्र प्रहरी र नेपाली सेनाको अर्को तहको घेरा भने यथावत् रहने उनले बताए। जिल्लामा १६१ मतदानस्थलमध्ये १०९ मतदानस्थललाई भने संवेदनशील सूचीमा राखिएको छ। 

जिल्लाका कुनै पनि मतदानस्थललाई सामान्यको सूचीमा नराखेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक नारायणप्रसाद भट्टले जानकारी दिए। 

केन्द्रीय सुरक्षा योजनाको आधारमा जिल्ला सुरक्षा समितिले बनाएको सुरक्षा योजनाअनुसार निर्वाचनपूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चात्का फरक फरक सुरक्षा योजना बनाइएको उनले बताए। 

पूर्व सुरक्षा योजनाको काम पूरा भएर प्रहरीले निगरानी थालेको बताउँदै प्रजिअ भटृले यसपटकको १६१ मतदानस्थलको ४०८ मतदान केन्द्रमा चार घेरामा सुरक्षाकर्मी परिचालन हुने जानकारी दिए। 

उनका अनुसार मतदान केन्द्रको पहिलो घेरामा म्यादी प्रहरीसहितका जनपद प्रहरी, त्यसपछि सशस्त्र प्रहरी, त्यसपछि सेना र आवश्यकताअनुसार अनुसन्धान टोली परिचालन गरिनेछ। महिला प्रहरी हरेक केन्द्रमा अनिवार्य रहने छन्। 

जिल्लामा एक हजार ७१० म्यादी प्रहरी र तीन हजार २९५ जनपद प्रहरी परिचालन हुने प्रहरी उपरीक्षक थापाले बताए। 
तीन निर्वाचन क्षेत्र रहेको चितवनमा यस वर्ष तीन लाख ५४ हजार ३६ मतदाता छन्। चितवनमा दोस्रो चरणमा निर्वाचन हुनेछ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell