
नैरोबी : केन्याको निर्वाचन बोर्डले निर्वाचन हुन बाँकी ठाउँमा चाँडै निर्वाचन गर्ने तयारी गरेको छ। निर्वाचन बहिष्कार गरेको विपक्षी दलहरुले नियन्त्रणमा लिएका ठाउँमा तत्काल निर्वाचन गराउन वा राष्ट्रपति उहुरु केन्याटालाई विजयी भएको घोषणा गर्न पनि दबाब परेको छ।
तर विपक्षी दलका नेता राईला ओडिङ्गका समर्थकहरुले निर्वाचन निष्पक्ष नभएको भन्दै विरोध प्रदर्शन गरेका छन्। ओडिङ्गाले बहिष्कार गरेकाले केन्याटा जबर्जस्त विजयी हुने सुनिश्चित छ।
सात दिनदेखि भइरहेको विरोध प्रदर्शनका क्रममा नौ जनाको मृत्यु भएको छ भने त्यत्तिकै संख्यामा घाइते भएका छन्।
यसअघि पहिलो पटक गत अगस्टमा भएको राष्ट्रपतीय निर्वाचनदेखि अहिलेसम्म निर्वाचनका क्रममा ४९ जनाको मृत्यु भएको छ।
पछिल्लो राष्ट्रपतीय निर्वाचनका कारण केन्यामा राजनीतिक ध्रुविकरण बढ्दै गइरहेको छ भने राजनीतिक संकट पनि लम्बिने देखिएको छ। रासस/एएफपी