काठमाडौँ : मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभाको निर्वाचनका लागि मुख्य दलहरुले उम्मेदवार नै फाइनल गर्न सकिरहेका छैनन्, २८ वर्षीय मिलन पाण्डे भने प्रचारमा उत्रिसके।
विवेकशील साझा पार्टीबाट काठमाडौँ क्षेत्र नं ९ का उम्मेदवार मिलनको आफ्नै व्यापार-व्यवसाय छ। सोही कारण राजनीतिमा समय दिन सजिलो भएको उनी बताउँछन्।
३० वर्ष नपुग्दै उम्मेदवार बनेपछि अहिले मिलनलाई अपरिपक्व भन्नेहरु धेरै छन्। तर उनी सहमत छैनन्।
भन्छन्, ‘हामी लामो समयदेखि राजनीतिमा छौँ। विभिन्न अभियानमा समाजसँग जोडिएर काम गरेका छौँ। विवेकशील पार्टीलाई सानो टिमबाट यहाँ ल्याउन हाम्रो भूमिका छ। हामी सक्षम छौँ भन्ने प्रमाणित गरिसकेका छौँ।’
‘हाम्रो रणनीति यसपालिको चुनावमा राष्ट्रिय पार्टी बन्ने हो। अर्को चुनावमा देशको नेतृत्व लिने हो। त्यही अनुरुप हामी अघि बढिरहेका छौँ,’ उनी सुनाउँछन्।
राष्ट्रिय पार्टी बन्नका लागि प्रत्यक्षमा एक सिट र समानुपातिकमा देशभरबाट कम्तिमा तीन प्रतिशत मत आवश्यक हुन्छ। राप्रपा, नेमकिपा जस्ता अहिलेका राष्ट्रिय पार्टीहरुलाई पनि कठिन ठानिएको यस्तो लक्ष्य के भर्खरै खुलेको नयाँ दलका लागि सम्भव छ त?
मिलन विगतमा फर्कन्छन्। २०७० सालको संविधान सभा निर्वाचनमा काठमाडौंबाट चार जना युवा स्वतन्त्र रुपमा चुनावमा होमिएका थिए। उज्ज्वल थापा, गोविन्दनारायण, पुकार बम र सन्तोष प्रधान।
स्वतन्त्र रुपमा चुनावमा होमिएर २५ दिन प्रचार गर्दा उनीहरुले पाएको मत जितका लागि पर्याप्त थिएन। तर मत संख्यालाई उनीहरुले सम्मानजनक रुपमा लिए। जनताले विकल्प चाहेका छन् भन्ने गतिलो उदाहरण यही भएको मिलन सुनाउँछन्।
पार्टी अस्तित्वमा नआएको र चुनाव चिह्न समेत नरहेको अवस्थामा सम्मानजनक हार पार्टीको पहिलो अध्याय भएको मिलनको कथन छ। त्यसले पार्टी केही हदसम्म राजनीतिक रुपमा चिनिएको उनी बताउँछन्।
०००००
२०७२ मा देशमा भूकम्प आयो। धेरै धनजनको क्षति भयो। विवेकशील नेपालीका युवा उद्दारमा उत्रिए। देशका विभिन्न ठाउँमा पुगेर राहत वितरण गरे। त्यो सामाजिक कामले राजनीतिक रुपमा चिनिँदै गरेको पार्टी समाजसँग जोडियो। त्यसले पार्टी समाजमा चिनिन धेरै महत्वपूर्ण भूमिका खेल्यो।
भन्छन्, ‘हामी जनताहरुसँग नजिक भएर जनताका लागि काम गरेका थियौँ।’
मिलन तेस्रो अध्यायको रुपमा गएको स्थानीय चुनाव सम्झन्छन्। स्थानीय चुनावले विवेकशील साझा पार्टीलाई राजनीतिक रुपमा स्थापित गरेको उनको तर्क छ। स्थानीय चुनावमा काठमाडौँ महानगरपालिकाको मेयरमा विवेकशीलले रन्जु दर्शनालाई उम्मेदवार बनाएको थियो। उनी भन्छन्, ‘स्थानीय चुनावले युवालाई स्थापित गर्यो । हार्नेलाई के मत दिनु भनेर मत नदिएका पब्लिकलाई पनि मत दिएको भए रन्जुले जित्ने रहेछ भन्ने भयो।’
चौथो र महत्वपूर्ण अध्याय पार्टी एकीकरण भएको मिलन सुनाउँछन्। रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीसित एकीकरणपछि विवेकशील साझा पार्टी देशकै एकमात्र वैकल्पिक शक्ति भएकाले चुनावमा जान गाह्रो नभएको उनको तर्क छ।
भन्छन्, ‘स्थानीय चुनावले ल्याएको माहोल दुई पार्टी एकीकरण भएपछि बढेको छ। जनताहरुले एकमात्र बलियो विकल्प पाएका छन्।’
उनी थप्छन्, ‘अहिले हामी भोटरलाई चिन्छौँ। भोटरले हामीलाई पनि चिन्छन्। हामीसँग अहिले राम्रो संगठन छ। चुनाव चिह्न पनि आफ्नै। त्यही भएर धेरै आतिनुपर्ने अवस्था छैन।’
०००००
मिलन पुराना नेताहरुले देशमा ल्याएको परिवर्तनलाई सम्मान गर्नुपर्ने बताउँछन्। तर, अब पनि पुरानो सोचले देश विकास नहुने उनको तर्क छ। ४५ वर्षभन्दा कम उमेरका ८१ प्रतिशत मानिसहरु भएको देशमा ७० वर्षभन्दा माथिका नेताहरुले युवाको भावना बुझेर काम गर्न नसक्ने उनको कथन छ।
‘३० वर्षमुनिका युवाहरुले अन्य पार्टीमा टिकट पाउँदैनन्। हामी ३० मुनिकाले ठूला दललाई चुनौती दिन सकेका छौँ। ठूलो सङ्ख्यामा रहेका युवाको आशा भरोसा भएका छौँ’’, मिलनले सुनाए, ‘अब हरेक बेथितिको अन्त्य गर्नको लागि विकल्प छ। विवेकशील साझा पार्टीले गर्छ भन्ने देखाएका छौँ।’
०००००
भन्न जति सजिलो गर्न सम्भव छैन। पुराना नेताहरुले गर्न नसकेको काम गर्न गाह्रो भए पनि आफूहरु सक्ने मिलन सुनाउँछन्।
भन्छन्, ‘हामीले नीति बनाउने हो। हामी कुन नीति बनाउँदा देशलाई फाइदा हुन्छ अध्ययन गर्न सक्छौँ। अरु देशले गरेको प्रगति बुझ्न सक्छौँ। हामी विज्ञसँग छलफल गरेर देशलाई सुहाउँदो नीति निर्माण गरेर देश विकास गर्न सक्छौँ।’
मिलन नेताहरु 'ड्रग डिलर' भएको बताउँछन्। जनता त्यही 'ड्रग'को नसामा लठ्ठिएर परिवर्तनको आशा मारिसकेका छन्।
‘इतिहास परिवर्तन भइराख्छ। जनाले नै बनाएको रेकर्ड जनताले नै तोड्छन्। रेकर्ड बन्ने भनेको नै तोड्नको लागि हो। यसपाली हामी तोड्छौँ’ मिलन भन्छन्, ‘इतिहासले पनि एकले बनाएको रेकर्ड अर्कोले तोडेको देखाएको छ।’