
काठमाडौं : प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ काठमाण्डौंको न्युटन हाइस्कुल र मोरङ विद्यालय भलिबल कमिसन सोमवार प्रि–क्वाटरफाईनलमा प्रवेश गरेका छन्।
न्यूटनले दोलखाको श्री सैलुङघ्याङलाई २५–१२, २५–१० को सोझो सेटमा हराउँदै प्रि–क्वाटरमा स्थान बनायो। पुरुषतर्फ नै मोरङ विद्यालय भलिबल कमिसनले धादिङको एडभान्स एकेडेमीलाई २५–९, २५–२२ को सोझो सेटमा हराउँदै प्रि–क्वाटरमा स्थान बनायो। दुवै टिम समूह विजेताको रुपमा अन्तिम स्थान बनाउन सफल भएका हुन्।
नयाँ बसपार्कको ढोरपाटन स्पोर्टस टेनिङ सेन्टरमा भएको पुरुषतर्फको अन्य खेलमा काभ्रे विद्यालय भलिबल कमिसन, ग्लासियर कलेज, झापा विद्यालय भलिबल कमिसन र धनुषाको बिनायक बोडिङ स्कुलले जित हात पारेका छन्।
काभ्रेले काठमाण्डौंको प्यारामाउण्ड एकेडेमीलाई २५–१६,२०–२५, २५–२१ को सेटमा हरायो। ग्लासियर कलेजले गुरासे भूमीलाई १३–२५,२५–२२, २५–१९ को सेटमा हरायो। झापाले काठमाण्डौंको माफलाई २५–१४, २५–७ को सोझो सेटमा हरायो। बिनायकले भक्तपुरको हिमचुली एकेडेमीलाई २५–९, २५–१६ को सोझो सेटमा हरायो।
निजी तथा आवसिय विद्यालय संगठन (प्याब्सन) को मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगिताको महिलातर्फ सफलता हात पादै चितवनको मेखौली स्पोट्र्स र भक्तपुरको स्प्रिङडेल स्कुलले विजेताको हैसियतमा अन्तिम १६ स्थान बनाए। मेखौली स्पोर्टस्ले काठमाण्डौंको परोपकारलाई २५–८ र २५–७ को सोझो सेटमा हरायो। स्प्रिङडेलले काठमाण्डौंको थ्रीस्टारलाई २५–८ र २५–१६ को सोझो सेटमा हरायो। पराजित भएका दुवै टिम पनि उपविजेताको रुपमा अन्तिम सोह्मा स्थान बनाए।
नेपाल विद्यालय भलिबल कमिसनको आयोजना सञ्चालन भएको प्रतियोगिताको महिला र पुरुष दुवैको विजेता टोलिले नगद १ लाख प्राप्त गर्ने छ।