
इभान पेरसिकले विजयी गोल गरेपछि हेलास भेरोनालाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ए को दोस्रो स्थानमा उक्लेको छ। सिरी ए अन्तर्गत गएराती भएको खेलमा इन्टरले हेलास भेरोनालाई २-१ ले पारजित गर्दै शीर्ष स्थानको नेपोलीसंग अंक दूरी कम गरेको हो।
अवे मैदानमा इन्टरलाई जिताउन बोर्जा भलेरो र इभान पेरिसिकले एक-एक गोल गरे। भेरोनाका लागि जियमपाओला पाज्जिनीले पेनाल्टीमा एक गोल गरे।
यस सिजन अपराजित रहने दुई टोली मध्ये एक रहेको इन्टरले ११ खेलबाट २९ अंक जोडेको छ। शीर्ष स्थानमा रहेको अर्को अपराजित टोली नेपोलीको समान खेलबाट ३१ अंक छ।
११ खेलबाट २८ अंक जोडेको साविक विजेता युभेन्ट्स तेस्रो स्थानमा छ।
सिरी ए कै अर्को खेलमा टोरिनो काग्लियारीलाई २-१ ले पराजित गर्दै नवौँ स्थानमा उक्लिएको छ। ११ खेलबाट टवरिनोको १६ अंक छ।