PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

तेस्रो नेपालगन्ज म्याराथन अर्को महिना, नगद पुरस्कारमा वृद्धि



पहिलोपोस्ट

तेस्रो नेपालगन्ज म्याराथन अर्को महिना, नगद पुरस्कारमा वृद्धि

नेपालगन्ज : ‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आयोजना हुने नेपालगन्ज म्याराथनको तेस्रो संस्करणमा नगद पुरस्कार राशी वृद्धि गरिएको छ।

दश बर्षे सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा नेपालगन्ज म्याराथन आयोजना गरिदै आएको छ। आयोजक क्रियटिभ ह्याण्ड्सले सोमवार पत्रकार सम्मेलन गरी नेपालगन्ज म्याराथनको तेस्रो संस्करण भव्य बनाउन पुरस्कार राशीमा बृद्धि गरिएको जानकारी दिएको हो।

पुरुष खुल्लातर्फ विजेताले ५५ हजार नगद पाउनेछ। गत बर्ष विजेतालाई ५० हजार हात पारेका थिए। त्यसैगरी दोस्रोले २५ हजार, तेस्रोले १५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ। खुल्ला म्याराथनतर्फ शीर्ष आठ जनालाई पुरस्कृत गर्ने क्रममा चौथो स्थान हासिल गर्नेले दश हजार, पाँचौंले ८ हजार, छैठौंले सात हजार, सातौंले छ हजार र आठौंले पाँच हजार नगद पाउनेछन्।

नेपालगन्ज रंगशालादेखि सुरु भइ कोहलपुर चौराहदेखि आठ सय मिटर उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः रंगशालामा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागी हुनेछन्। त्यस्तै, जुम्ला, कालिकोट लगायतका कर्णालीका जिल्लाहरु र प्रदेश ५, ६ र ७ का खेलाडीहरुले भाग लिदैआएका छन्। गत बर्ष नेपाली सेनाका कृष्ण बस्नेत विजेता बनेका थिए ।

त्यसैगरी महिला खुल्ला हाफ म्याराथनमा विजेतालाई ३० हजार, द्धितीयले १५ हजार र तृतीयले १० हजार पाउनेछ। हाफ म्याराथनमा चौथो स्थान हात पार्नेले सात हजार, पाँचौंले छ हजार र छैठौंले पाँच हजार पाउनेछन्। कान्छीमाया कोजु दोस्रो संस्करण २०१६ की विजेता हुन्।

विद्यालयस्तरीय पाँच किलोमिटर छात्र एवं छात्रा दौड पनि समावेश गरिएको छ। यसमा पनि नगद पुरस्कार व्यवस्था गरिएको कार्यक्रम संयोजक विक्रमजंग थापाले जानकारी दिए।

अपाङगता भएका व्यक्तिहरुका लागि खुला एक किलोमिटर ट्राइसाइकल दौडमा पनि नगद पुरस्कार राखिएको छ। म्याराथनलाई भब्य बनाउन गत बर्षदेखि सुरु गरिएको विद्यालयस्तरीय एकल नृत्य प्रतियोगितालाई पनि निरन्तरता दिइएको छ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले आसन्न आठौं राष्ट्रिय खेलकुदलाई पनि टेवा पुग्ने भएकाले यस म्याराथनको भब्यता र सफलतासँग समग्र खेलकुद जोडिने भएकाले सबैलाई सहकार्य र सहयोग गर्न आग्रह गरे।

नेपालगन्ज म्याराथनसंग मुख्य साझेदारी गर्दै आएको ब्राइटल्याण्ड स्कुलले म्याराथनलाई निरन्तर सहकार्य गर्ने जनाएको छ। नेपालगन्ज म्याराथनलाई वर्षेनी स्तरीय बनाउदै राष्ट्रियस्तरको भव्य प्रतियोगिताका रुपमा स्थापित गर्ने आयोजक टिमको परिकल्पना रहेको आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell