
खोटाङ: आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खोटाङबाट एकजना मात्र महिलाको उम्मेदवारी परेको छ।
जिल्लाबाट प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका १८ जना पुरुषको सामु एक्ली महिला सरस्वती बजिमयको उम्मेदवारी परेको हो।
विसं २०७० मा भएको संविधानसभामा समानुपातिकतर्फको सभासद बनेकी बजिमय नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेकी हुन्।
बजिमयसँगै काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, नेकपा (माले), राप्रपा (प्रजातान्त्रिक), एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), राष्ट्रिय जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमुक्ति र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १९ जना उम्मेदवार रहेका छन्।
विभिन्न औपचारिक कार्यक्रममा महिलाको अधिकार र सहभागिताका पक्षमा चर्को भाषण गर्ने दलले निर्वाचनमा उठाउने क्रममा भने महिलालाई उपेक्षा गरेका छन्। निर्वाचनमा जिल्लाबाट प्रतिनिधिसभाका लागि १० र प्रदेशसभाका लागि नौजनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
काँग्रेस निकट महिला संगठनबाट २०३६ सालदेखि राजनीति सुरु गरेकी बजिमयले महिला संघको जिल्ला सभापति, केन्द्रीय कोषाध्यक्ष, महिला विभागको केन्द्रीय सदस्यलगायतको भूमिका निर्वाह गरिसकेकी छन्। उम्मेदवारी हालेसँगै चुनावी अभियानमा होमिएकी बजिमयको आगामी निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार विशाल भट्टराईसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ।
प्रतिनिधिसभा सदस्यमा बजिमयले टिकट पाए पनि प्रदेश सभामा कुनै पनि दलले महिला नेत्रीलाई दिएका छैनन्। दलको भरपर्दो खम्बाका रुपमा काम गरिरहेका बेलामा अवसर आउँदा भने पाखा लगाइएपछि महिला नेत्रीहरु असन्तुष्ट बनेका छन्।
प्रदेशसभामा दुई र प्रतिनिधिसभामा एक क्षेत्र रहेको जिल्लामा सबै राजनीतिक दलले आ–आफ्नो चुनावी अभियान सुरु गरिसकेका छन्। चुनावी अभियानमा होमिएका दलहरु अहिले गाउँ–गाउँमा पुगेर आफ्नो पक्षमा मतदाता तान्ने कसरतमा रहेका छन्। रासस