
इश्लामावाद: पाकिस्तानको दक्षिण पश्चिम प्रान्त बालोचिस्तान प्रान्तको राजधानी क्वेटाबाट अपहरणमा परेका दुई चिनियाँ पर्यटकको गत मे महिनामा भएको अपहरणको केही दिनपछि हत्या भएको सोमबार पाकिस्तानले पुष्टि गरेको छ।
सन् २०१७ को जुन महिनामा हत्या गरिएको अवस्थामा बालोचिस्तानमा भेटिएका दुई मृत शरीर क्वेटाबाट मे महिनामा अपहरणमा परेका चिनियाँहरूको नै भएको डिएनए परीक्षणबाट खुलेको कुरा पाकिस्तानको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “डिएनए परीक्षणबाट मृतक दुई जना अपहरित चिनियाँ नागरिकनै रहेको पुष्टि भएको छ।”
पाकिस्तान सरकारले चिनियाँ नागरिकमाथि भएको हत्याप्रति शोक व्यक्त गर्दै चीन सरकार तथा त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको छ। पाकिस्तानले मृतकका परिवारजनमा सहानुभूति प्रकट गर्दै मृतात्माको शान्तिका लागि प्रार्थना गरेको छ।
“पाकिस्तानले आफ्नो भूमिमा हुने कुनैपनि आतङ्कवादी गतिविधिको कडा निन्दा गर्छ,” विज्ञप्तिमा भनिएको छ। रासस/सिन्ह्वा