
काठमाडौँः दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता गर्न अब दुई दिन बाँकी छ। तर, प्रमुख राजनीतिक दलहरु अझै उम्मेदवार छनोटमा नै व्यवस्त छन्। वाम र लोकतान्त्रिक गठबन्धनले धेरै स्थानमा टिकट विवाद मिलाए पनि केही क्षेत्रका विवाद अझै सल्टिएका छैनन्।
लोकतान्त्रिक गठबन्धनको झापा ३ मा कांग्रेस र राप्रपा दुबैका उम्मेदवार घोषणा भइसकेका छन्। अन्य क्षेत्रमा त्यति विवाद देखिएको छैन।
तर, पार्टी एकीकरणसम्मको लक्ष्य लिएर बनेको वाम गठबन्धनमा अझै पाँच निर्वाचन क्षेत्रको विवाद पेचिलो छ। एमाले उपाध्यक्ष वामदेव गौतम निवासमा पछिल्लो एक साता यता बसेका एमाले र माओवादी केन्द्रका संयुक्त बैठक ती विवाद हल गर्न असमर्थ हुँदै आएको छ।
कहाँ कहाँ विवाद?
६०/४० को भागवन्डामा उम्मेदवार चयन गर्ने सहमति गरेका दुई दलबीच ६ जिल्लामा विवाद थियो। दाङमा माओवादी केन्द्रका नेता र एमाले नेता शंकर पोखरेलबीचको विवाद शीर्ष नेता तहबाटै मिलाइएको छ। दाङ २ मा अब माओवादीका कृष्णबहादुर महरा उम्मेदवार हुनेछन्। प्रदेश ५ को मुख्यमन्त्रीको उम्मेदवारका रुपमा गठबन्धनले पोखरेललाई प्रदेशसभामा उम्मेदवार बनाएको छ।
दाङको विवाद सुल्झिए पनि झापा, सुनसरी, चितवन, उदयपुर र सल्यानमा कसलाई टिकट दिने गठबन्धनमा विवाद नै छ।
झापामा दुई पूर्वमन्त्रीको दाबी
झापा निर्वाचन क्षेत्र नम्बर ३ मा दुई पूर्वमन्त्री अग्निप्रसाद खरेल र राम कार्कीको टिकटमा दाबी छ। एमाले अध्यक्ष ओली निकट मानिने खरेल यसअघि दुबै पटक समानुपातिक सांसद् बनेका थिए। वाम गठबन्धनपछि उनले झापाको टिकटमा दाबेदारितालाई बलियो बनाएका छन्। कार्कीले पनि झापा ३ मा टिकट पाउनुपर्ने दाबी छाडेका छैनन्।
सल्यानमा एमालेका प्रकाश ज्वाला र माओवादी केन्द्रका टेकबहादुर बस्नेत कसले टिकट पाउने भन्नेमा विवाद छ। दुबैको दाबी प्रतिनिधिसभामा छ। बस्नेत बिना विभागीय मन्त्री हुन्। एमाले पोलिटव्यूरो सदस्य ज्वाला सोही क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि हुन्।
उदयपुरमा एमालेका जगन्नाथ खतिवडा र माओवादीका हिमाल किराती दुबैले प्रतिनिधिसभामा टिकट दाबी गरेका छन्। माओवादीले झापा क्षेत्र नम्बर ३ वा उदयपुरमध्ये एक आफूले पाउनु पर्ने दाबी शीर्ष नेताको बैठकमा गरेको छ।
चितवन २ मा बादल र कृष्णभक्तको अडान
एमाले चितवनका अध्यक्ष समेत रहेका पूर्वसांसद् कृष्णभक्त पोखरेल र रामबहादुर थापा बादल’बीचको रस्साकस्सीले चितवन २ को टिकट टुंगोमा पुगेको छैन। पोखरेल यसअघि सोही क्षेत्रबाट निर्वाचित सांसद् हुन्। यसअघिको चितवन ३ अहिले प्रतिनिधिसभामा चितवन २ मा रुपान्तरण भएको हो।
चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिताउने अभिभारा समेत बोकेका पोखरेललाई टिकट दिनुपर्नेमा प्रचण्ड समेत सकरात्मक छन्। तर, बादलको व्यवस्थापन चुनौती बनेको छ।
गठबन्धनले बादललाई काठमाडौँ १०, वा नवलपरासी २ मध्ये एक रोज्न आग्रह गरे पनि अझै निर्णय भएको छैन। बादललाई काठमाडौँ १० मा चुनाव लडाउने उदेश्यले एमालेले आफ्ना उम्मेदवार सुरेन्द्र मानन्धनरलाई समानुपातिक सूचीमा राखिसकेको छ। तर, चितवन २ को विवाद गठबन्धनमा यथावत छ।
सुनसरी १ मा एमाले माओवादी दुबैको दाबी छ। एमाले बलियो क्षेत्र रहेको सुनसरीमा प्रतिनिधिसभामा सबै आफ्ना उम्मेदवार उठाउने एमालेको रणनीति बुझिन्छ। तर, माओवादीले प्रदेशसभामा मात्र चित्त बुझाएको छैन। सुनसरी १ मा माओवादीको पनि दाबी छ। दलीय अडानकै कारण सुनसरीमा उम्मेदवारबारे छलफल भएको छैन।