हरि बाँस्तोला
पोखरा : सुन्दा अचम्म लाग्न सक्छ। नेपालमै नौँ दशक उमेर पुग्नै लागेका ज्येष्ठ नागरिक अहिले पनि राँगो पालनबाट आय आर्जनको प्रमुख स्रोत बनाउँदै आएका छन् भन्दा। तर, हाम्रै समाजमा ६० वर्ष उमेर काटेपछि आफूलाई अशक्त महसुस गर्ने प्रचलन रहेको छ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं १७, हनुमानटोल निवासी ८९ वर्षीया अमरबहादुर नेपालीले राँगो पालनलाई विगत तीन दशकदेखि निरन्तर आफ्नो आम्दानीको स्रोत बनाएर सबैका अनुकरणीय बनेका छन्।
भैँसीले राँगो खोज्यो भने पशुपालक कृषकको गोठमा नै राँगो डोर्याएर पुर्याइदिने र घरमा भैँसी ल्याउँदा गोठबाट राँगो फुकाउनु नेपालीको दैनिकी हो।
गत वर्ष राँगोले लगभग १५० भैँसीलाई प्रजनन गराउँदा एक लाख ६० हजार आम्दानी गरेका नेपाली यस वर्ष दुई लाखभन्दा बढी आम्दानी गर्ने सोचमा छन्।
“घरमै लिएर आएमा राँगो फुकाइदिन्छु एउटा भैँसी प्रजनन गराएको हजार लिँदै आएको छु”, उनले भने, “भैँसी पालक कृषकको आग्रहअनुसार राँगो डोर्याएर घरमै पुर्याउँदा भने थप दुर्इ सय लिने गरेको छु।”
“मैले ३० वर्षभन्दा पहिलेदेखि राँगो पाल्दै आएको छु”, उनले थपे, “उन्नत जातको राँगो पालेका कारण स्थानीय जातका भैँसीका सन्तान पनि बढी दुधालु हुने गरेको भैँसी पालक कृषकले भन्दै आएका छन्।”
एक वर्षअघि ५० हजारमा खरिद गरेको उन्नत जातको राँगोले दुई वर्षको अवधिमा चार लाखभन्दा बढी आम्दानी दिएको र मासुमा बिक्री गर्दासमेत ७० हजारदेखि ८० हजारसम्म पर्ने हुँदा राँगो पालनबाट दोहोरो फाइदा हुने गरेको उनले बताए।
पहिले घर नजिकैको बिरुवा फाँटमा धान बाली मात्र हुँदा बाँकी अवधिमा चरन हुने र घाँस पनि प्रसस्त पाइने हुँदा स्थानीय बासिन्दाले धेरै संख्यामा भैँसी पाल्ने गरेको र आसपासमा राँगो पाउँन मुस्किल भएकै कारण तत्कालीन समयदेखि नै राँगो पाल्न शुरु गरेको उनले बताए।
राँगो पाल्न थालेपछि यहाँका भैँसी पालक किसानलाई सुविधा पुगेको बताउँदै नेपालीले भने, “राँगाको माग पनि उस्तै बढी थियो यता आम्दानी पनि हुने, त्यसैले यो पेशालाई निरन्तरता दिँदै आएको हुँ।”
“मैले स्वास्थ्यले साथ दिएसम्म राँगो पाल्ने विचार गरेको छु”, उनले भने, “अहिले पनि आफूलाई आवश्यक रकम खाँचो भएको छैन, नातिनातिना, पनातिपनातिनी घरमा आउँदा आफ्नै कमाइले खुशी बनाउन पाएको छु।”
राँगोलाई विशेष गरी घाँसका साथै अण्डा, दूध, चोकर तोरीको तेलजस्ता प्रोटिनयुक्त पदार्थ खुवाउने गरेका कारण पालन पोषणमा बढी खर्च आउने गरेको उनलाई राँगोपालनमा सघाउँदै आएकी श्रीमती मंगलमाया नेपाली बताउँछिन।
कृत्रिमको तुलनामा प्राकृतिक प्रजनन बढी सफल हुने गरेका कारण अहिले पनि यस क्षेत्रका पशुपालक कृषक भैँसीले राँगो खोज्दा प्राकृतिक प्रजननमा नै जोड दिने गरेका छन्। रासस