PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

अन्तत: बालकृष्ण ढुंगेल पक्राउ



सविन ढकाल

अन्तत: बालकृष्ण ढुंगेल पक्राउ

काठमाडौं : माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन्। ओखलढुंगाका स्थानीय उज्जन कुमार श्रेष्ठ हत्या मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भइ फरार रहेका नेकपा माओवादी केन्द्रका नेता ढुंगेललाई प्रहरीले पक्राउ गरेको हो। ढुंगेललाई बिहान ललितपुरको सातदोवाटोबाट पक्राउ गरिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको हो।  नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेले ढुङगेल पक्राउ परेको पुष्टि गरे। 

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहितलाई ज्यान मार्ने धम्की दिएको भन्दै ढुंगेललाई पक्राउ वारेन्टसहित सर्वोच्च अदालतमा २०७३ चैत ३० गते रिट दायर भएको थियो। चैत ३१ गते सर्वोच्चले ढुंगेललाई जहाँ भए पनि पक्राउ गरी कारागारमा बुझाउन आदेश दिएको थियो। 


ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ सालमा भएको हत्यामा दोषी ठहर पूर्वसभासद् ढुंगेललाई प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, र ओमप्रकाश मिश्रको इजलासले २०७२ पुसमा आममाफी नदिन राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेश जारी गरेको थियो।  

सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। 

सर्वोच्च अदालतको निर्णय कार्यान्वयन नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध मुद्दा दायर भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अर्यालविरुद्ध हदैसम्मको कारबाही माग गर्दै मुद्दा दायर गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell