काठमाडौं : बिहान ११ बजे तरकारी किन्न चोकतिर निस्किएका थिए बालकृष्ण ढुंगेल। दैनिकी झै आज तरकारी किन्न निस्किए पनि दिन भने फरक थियो। प्रहरीको फरार सूचीमा रहेर निर्वाध स्वतन्त्र जीवन विताइरहेका माओवादीका पूर्व सांसद ढुंगेल सात दोवाटो चोकमा पुगेका के थिए मोटरसाइकलमा आएका चार युवा उनी नजिकै पुगे। ती युवाले झ्याप्प दाह्री पालेका थिए। कपाल पनि लामै थिए तिनका।
'उनीहरुले हाम्रो अफिस जानुछ हामीसित बस्नुहोस् भन्दै बाइकमा बसाउन खोज,' ढुंगेलसँगै रहेका भाइले पहिलोपोस्टसँग भने।
शुरुमा त बालकृष्णले 'बाइकमा जान्न गाडी भए जान्छु' भने। तर उनको अस्वीकारको कुनै अर्थ रहेन। मोटरसाइकलमै उनलाई लिएर गए। 'उहाँलाई कसले कहाँ लगेको भन्ने थाहा भएन,' ढुंगेलका भाइले भने, 'मोबाइल अफ छ। प्रेसरको औषधी खाने समय भयो कता हुनुहुन्छ थाहा छैन।'
माओवादीको शक्तिशाली राजनीतिकै आडमा खुलेआम प्रहरीसामु हिँड्दा पनि 'फरार' रहेका बालकृष्णलाई मोटरसाइकलमा हालेर लैजाने अरु कोही थिएन - सिभिल पोसाकमा नेपाल प्रहरीकै केन्द्रीय अनुसन्धान व्यूरोको टोलीको नियन्त्रणमा थिए उनी।
अन्तत: बालकृष्ण ढुंगेल पक्राउ
नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेले उनको गिरफ्तारीको पुष्टी गर्दै पहिलो पोस्टसित भने, 'आज ११ बजे पक्रेका हौं। आजै उहाँलाई अदालतमा पेश गरिँदैछ।'
सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
सर्वोच्च अदालतको निर्णय कार्यान्वयन नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध मुद्दा दायर भएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अर्यालविरुद्ध हदैसम्मको कारबाही माग गर्दै मुद्दा दायर गरेका थिए। महानिरिक्षक अर्याल विरुद्ध अपहेलना मुद्धा दर्ता भएपछि प्रहरीले ढुंगेलको खोजी तिव्र बनाएको थियो।