PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बालकृष्ण समातिएपछि उज्जनकी दिदी सावित्रीको प्रतिक्रिया : न्याय मरेको रहेनछ



रमेश वाग्ले

बालकृष्ण समातिएपछि उज्जनकी दिदी सावित्रीको प्रतिक्रिया : न्याय मरेको रहेनछ

काठमाडौं : माओवादीले हत्या गरेका ओखलढुंगाका उज्जनकुमार श्रेष्ठकी दिदी सावित्रीलाई मंगलबार बालकृष्ण ढुङ्गेल पक्राउ परेको खबर सुन्दा पत्यार नै लागेन।

प्रहरीका उच्च अधिकारीसँग एउटै मञ्च सेयर गर्दा पनि पक्राउ नपरेका ढुङ्गेल कम्युनिस्ट गठबन्धनपछि एमाले कार्यकर्तासँग चुनावी रणनीतिमा सक्रिय फोटोसमेत सार्वजनिक भएको थियो। उनीविरुद्ध उत्रिने एमाले कार्यकर्ता उनीसँगै सहकार्य गर्न थालेसँगै प्रक्राउ परेको विषय उनका लागि आश्चर्य बन्यो। 

'पक्राउ परेको हल्ला त सुनेकी छु। तर, अहिलेसम्म प्रहरीले औपचारिक रुपमा पक्राउ गरेको जानकारी दिएको छैन,' सावित्रीले भनिन्, 'यदि त्यसो भयो भनेमात्र मलाई उनी पक्राउ परेको विश्वास लाग्ने छ।' पक्राउ गरेकै भए पनि शक्तिको आडमा छुटिहाल्छन् होला भन्ने चिन्ताले पनि उनलाई सताइरहेको छ। 

'यो कुरा पुष्टी भयो भने म देशमा न्याय मरेको रहेनछ भन्ने छु,' सावित्रीले रुँदै भनिन्, 'मेरो दाइले भाइ मारिएको भनेर जाहेरी दिएबापत हत्याराको सिकार हुनुपर्यो। समातेकै भए मेरो दाइको आत्माले शान्ति पाउँछ।'  

पक्राउ परेको खबर सुन्दा पूरा विश्वास नभए पनि  पहिलो पटक दाजु गणेशकुमार श्रेष्ठको अनुहार झल्झली सम्झिएको बताइन्। 
'उहाँले जाहेरी दिएको भनेर नै मेरा दाइ गणेशलाई पनि मारेका थिए,' भकानिँदै सावित्रीले भनिन्। 

'न्यायालयले सही फैसला गरेर पनि हामीले न्याय पाउन सकेका थिएनौं,' सावित्रीले भनिन्, 'न्यायालयको फैसला कार्यान्वयन गर भन्न पनि हामीले राज्यसँग भिख मागे झै गर्नुपर्योर। यतिका दिन हामीले न्याय मागेर हिँड्दा नै थप क्षति बेहोर्नु पर्यो।' 

उनले ढिलै भए पनि पक्राउ पर्दा राहत महसुस गरेको बताइन्। 'यो देशमा न्याय अझै मरेको रहेन छ भन्ने अनुभव मैले गरेकी छु,' सावित्रीले भनिन्। 

उनले हत्यारालाई समातिएको भए पूरा सजाय दिन र कुनै पनि बाहनामा छुट नदिन आग्रह गरिन्। 

'हत्याराले पूरा सजाय भोगोस्। राष्ट्रपति वा अन्य निकायबाट त्यस्ता अपराधीलाई सजाय छुट नहोस्,' सावित्रीले भनिन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell