काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिका लागि आगामी निर्वाचनमा कांग्रेसले जित्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन २०७४ का लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै प्रधानमन्त्रीले कांग्रेसको नेतृत्वमा नै २००७ सालयता मुलुकमा ठूला परिवर्तन सम्भव भएको र मुलुकमा अब आर्थिक समृद्धि गर्न पनि आसन्न निर्वाचनमा पनि कांग्रेस विजयी हुनुपर्ने बताए।
कम्युनिष्ट शासन व्यवस्थामा व्यक्तिगत स्वतन्त्रता र मानवाधिकार हनन् हुनाका साथै त्रासको वातावरण हुने भन्दै प्रधानमन्त्री देउवाले जनतालाई देशको मालिक बनाउन लोकतन्त्र नै चाहिने र लोकतन्त्रको संरक्षण कांग्रेसले मात्र गर्न सक्ने बताए।
हिमाल, पहाड र मधेसलाई जोड्ने एक मात्र पार्टी कांग्रेस भएको दाबी गर्दै प्रधानमन्त्रीले समावेशी अधिकार स्थापित गर्न, राष्ट्रिय एकता बलियो बनाउन र राष्ट्रिय अन्तरराष्ट्रिय विश्वासका लागि पनि मुलुकमा कांग्रेसको विजय अपरिहार्य रहेको बताए।
वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशकपछि मुलुकमा नयाँ संविधानमार्फत राजनीतिक व्यवस्थाको टुंगो लागेको भन्दै मुलुकमा अब आर्थिक समृद्धि आवश्यक भएको र यसका लागि कांग्रेसले घोषणापत्रमार्फत प्रतिबद्धता सार्वजनिक गरेको बताए।
महामन्त्री डा शशांक कोइरालाले कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिनु कांग्रेसका लागि चुनौती भएको उल्लेख गर्दै आगामी निर्वाचनमा कांग्रेस नेता कार्यकर्तालाई एकढिक्का भएर निर्वाचनमा होमिन आग्रह गरे।रासस