.png)
काठमाडौं : प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ भक्तपुरको स्प्रिङडेल इङलिस स्कुल क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलवार भएको महिलातर्फको प्रि–क्वाटरफाईनल खेलमा स्प्रिङडेल स्कुलले महोत्तरीको भानुभत्त मेमोरियल स्कुललाई २–० को सोझो सेटमा हरायो। पहिलो सेट २५–१७ ले जिते पनि स्प्रिङडेलले दोश्रो सेटमा २७–२५ को कठिन जित निकालेको थियो।
स्प्रिङडेलले पुरुषतर्फ पनि काठमाण्डौको एन्जल्सहार्टलाई २–० को सोझो सेटमा हराउँदै प्रि–क्वाटरमा स्थान बनायो। पुरुषतर्फ दुवै खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरिएको एन्जल्स्हार्ट लिगको अन्तिम खेलमा स्प्रिङडेलसँग २५–१९, २५–२३ ले स्तब्ध भएको थियो।
नयाँ बसपार्कको ढोरपाटन स्पोर्टस टेनिङ सेन्टरमा भएको महिलातर्फको खेलमा सफलता हात पादै रुपन्देहीको एभरेष्ट बोडिङ स्कुल र दाङको श्रीगाँउ खेलकुद बिकास समिति समूह बिजेताको रुपमा प्रि–क्वाटरमा प्रवेश गरेका छन्। एभरेष्टले काठमाण्डौंको बिन्ध्याबासीनी एकेडेमीमाथी २५–७, २५–८ को सहज जित निकाल्दा श्रीगाँउले माफमाथी पनि २५–७, २५–५ को जित निकाल्यो। बिन्ध्याबासीनी र माफ पनि पराजित भए पनि उपबिजेताको हैसियतले अन्तिम १६ मा स्थान बनाए।
पुरुषतर्फको अन्य खेलमा कञ्चनपुरको लिटिलबुद्ध, काठमाण्डौंको ढोरपाटन स्पोर्टस् क्लब र ग्लासियर कलेज, एड्भान्स एकेडेमी र श्री स्टारले सफलता हात पारेका छन्।
मंगलवार लिटिल बुद्ध एकेडेमीले दोहोरो सफलता हात पादै प्रिक्वाटरमा समूह बिजेताको रुपमा प्रवेश गरेको छ। लिटिलबुद्धले पहिलो खेलमा गुल्मी जिल्ला भलिबल संघलाई २५–२३, २५–२२ ले हराउँदा आरुणी स्कुललाई २५–१३, २५–१७ को सोझो सेटमा हरायो। आरुणी स्कुल उपबिजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्दा गुल्मी प्रतियोगिताबाट बहिरिएको छ।