
काठमाडौं : एसियाली फुटबल महासंघ (एएफसी) को सहयोगमा नेपालमा तीन वटा मिनि फुटबल पिच बन्ने भएको छ। जसमध्ये एउटा काठमाडौंमा र बाँकी दुई मोफसलमा निर्माण हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
एएफसी प्रेसिडेन्ट इनिटिएटिभ अन्तर्गत बन्न लागेको मिनि पिचका लागि एएफसीले ३ लाख अमेरिकी डलर (३ करोड नेपाली रुपैयाँ बराबर) सहयोग उपलब्ध गराउने भएको छ।
प्रत्येक मिनि पिचका लागि १-१ करोड खर्च गरिने एन्फाले जनाएको छ। पिच आर्टफिसियल हुने र एक वर्षका लागि रन हुने एएफसीले प्रोजेक्स पोलिसिमा जनाएको छ। पिचको आकार ४०/२० मिटर हुनेछ।
मिनि पिच प्रोग्राम अन्तर्गत एन्फाले काठमाडौंमा बालाजु बाइपासस्थित स्याक्रेड हाइअर सेकेण्डरी स्कुलमा मिनि पिच बनाउने भएको छ। मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट र एन्फा अध्यक्ष नरेन्द्र लाल श्रेष्ठले उक्त पिचको शिलन्यास गरे।
यस्तै बाँकी दुईमध्ये मकवानपुर र नवलपरासीमा पनि एक-एक पिच बनाउने एन्फाले जनाएको छ।
काठमाडौंको पिच ए डिभिजन क्लब एनआरटीले लिजमा लिएर बनाउन लागेको हो। उक्त पिचलाई एनआरटीले ट्रेनिङ ग्राउण्डको रुपमा उपयोग गर्नेछ भने स्कुलको लागि पनि फाइदा पुग्नेछ।
राखेप सदस्य सचिव विष्ट र एन्फा अध्यक्ष श्रेष्ठले काठमाडौंमा बन्ने मिनी पिचले खेलकुदका लागि फाइदा पुग्ने बताए।