
टोकियो : उत्तर कोरियाको आणविक परीक्षणस्थलमा अकस्मात विष्फोट हुँदा सुरुङमा पुरिएर करिब दुई सय जनाको मृत्यु भएको आशङ्का गरिएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।
पुङ्गे–रीमा गत सेप्टेम्बर ३ मा उत्तर कोरियाले गरेको छैटौँ तथा सबैभन्दा ठूलो भूमिगत आणविक हतियार परीक्षणका क्रममा सुरुङमा काम गरिरहेका १०० जनाभन्दा बढी मानिसको मृत्यु भएको जापानी टेलिभिजन असाहीले उत्तर कोरियाली गोप्य स्रोतको हवाला दिँदै उल्लेख गरेको छ।
एएफ्पीलाई प्राप्त समाचारमा भनिएको छ, “सुरुको विष्फोटमा १०० जनाको मृत्यु भएको र उद्धारका लागि पुगेको अर्को समूहका १०० जना उद्धारका क्रममा सुरुङ पुनः भत्किंदा मारिए।”
दुर्घटना सेप्टेम्बर ३ मा गरिएको शक्तिशाली हतियार परीक्षणका क्रममा भएको असाहीले जनाएको छ।
विज्ञ समूहले भनेको छ, “भूमिगत परीक्षणले पहाड भत्किने र यसको विकिरण जमिनबाट चुहिएर चीनको सीमा नजिकैको वातावरणमा पर्नसक्ने बताएका छन् ।”
अमेरिकी भौगर्भिक विभागले परीक्षणका क्रममा विष्फोटको आवाजले पहिले ६.३ म्याग्निच्युडको भूकम्पीय धक्का महसुस भएको र केही बेरमा ४.१ म्याग्निच्युडको भूकम्पको महसुस भएको बताएको थियो । रासस/एएफ्पी