
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई मधेसको अधिकार स्थापित गराउन आफ्नो पार्टी अझै बढी क्रियाशिल भएर लाग्ने बताएका छन्।
मंगलबार आफ्नै निवास लाजिम्पाटमा राष्ट्रिय जनता पार्टीका विभिन्न स्तरका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले वाम एकताले मधेश र मधेशी जनताको अधिकारमा प्रतिकूल असर नगर्ने स्पष्ट पारे।
अध्यक्ष प्रचण्डले भने, ‘एमालेसहितका पार्टीहरुसँग पार्टी एकता र वाम गठबन्धनको तयारीपछि अब माओवादीले मधेशका मुद्धा छोड्छ भन्ने भ्रम पार्न खोजिएको छ । मधेश र मधेशी जनताको अधिकारका विषयमा एकमत भएर नै हामीले चुनावी तालमेल र पार्टी एकताको प्रक्रिया अघि बढाएका हौं । हामी मधेशी जनताको पहिचान, अधिकार र मधेशको समृद्धि र विकासको पक्षमा छौं र रहन्छौं, यसमा कहीँ कतै भ्रम नरहोस्।’
कार्यक्रममा प्रचण्डले आफ्नो पार्टीका नेता बालकृष्ण ढुंगेल पक्राउको विषयमा भने केही बोलेनन्।कार्यक्रममा अध्यक्ष प्रचण्डले कांग्रेस नेता सुरेशचन्द्र दाससहित विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्तालाई आफ्नो पार्टी प्रवेश गराएका थिए।