PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

उपेन्द्र यादवविरुद्द बागी उम्मेदवारी घोषणा



पहिलोपोस्ट

उपेन्द्र यादवविरुद्द बागी उम्मेदवारी घोषणा

राजविराज: आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका नेताहरुले केन्द्रमा बसेर सिट बाँडफाँट गरेर सार्वजनिक गरेलगत्तै असन्तुष्टि जनाउँदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका एक नेताले वागी उम्मेदवारीको घोषणा गरेका छन्।

सप्तरी निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी निश्चित भएपछि राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका हुन्।

राजविराजमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा ठाकुरले पार्टीको गलत निर्णयविरुद्ध आफूले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्दै पार्टीको सहमहामन्त्रीलगायत साधारण सदस्यसमेत परित्याग गरेको बताए।

यसअघि दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएर पराजित हुनुभएका ठाकुर पछिल्ला मधेश आन्दोलनमा निकै सक्रिय रहेका थिए।

उनले आफूलाई प्रतिनिधिसभाको टिकट दिइने भन्दै चुनावको तयारीमा जुटेका थिए। तर ठाकुर आकांक्षी रहेको निर्वाचन क्षेत्रमा राजपाले संघीय फोरम नेपाललाई दिएपछि ठाकुरले गठबन्धनले गरेको बाँडफाँट बाहिर आएलगत्तै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्।

त्यस्तै, गत शनिबारदेखि टिकटका लागि राजविराजमा आमरण अनशनमा बस्नुभएका राजपाका क्षेत्रीय सभापति लक्ष्मण यादवले समेत प्रदेशसभाका लागि मंगलबारै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेको राजपाका सहमहामन्त्री ठाकुरले जानकारी दिए।

निष्ठावान र सक्रिय कार्यकर्तालाई पाखा लगाई पार्टीले टिकट वितरणमा भेदभाव गरी नातावाद, पहुँच र व्यक्तिवादका आधारमा टिकट वितरण गरेको भन्दै सुरु गरेको अनशन यादवले मंगलबारदेखि स्थगित गरेका थिए।

अनशन स्थगित गरेपछि क्षेत्र नम्बर २ (ख) बाट उनले प्रदेशसभामा आफूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे। क्षेत्र नम्बर २ को (ख) बाट राजपाका महासचिव मनिष सुमनको उम्मेदवारी तय भएको छ।

यता बागी उम्मेदवारी दिएकालाई पुनः पार्टीमा फर्काउने प्रयास भइरहेको राजपा नेता गजेन्द्र मण्डलले बताए।


भागबण्डा नमिल्दा अनशनमा

यसैबीच, वाम गठबन्धनले सप्तरीको दुई/दुई वटा प्रतिनिधिसभाका लागि सिट बाँडफाँट गर्दा एमालेका जिल्ला युवा नेताले असन्तुष्टि जनाउँदै मंगलबारदेखि आमरण अनशन बसेका छन्।

दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमाले बलियो पार्टी भएको क्षेत्रमा माओवादी केन्द्रलाई उम्मेदवारी दिएको भन्दै जिल्ला सदस्य दुर्गानन्द ठाकुर, अखिलेश झा, सलिम राइन मियाँ र अनेरास्ववियुका जिल्ला अध्यक्ष ललित रजकसहितले अनशन थालेका छन्।

राजविराजस्थित एमालेको पार्टी कार्यालयमा अनशन बसेका उनीहरुले एमाले सप्तरी र प्रदेश कमिटीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का लागि सर्वसम्मतरुपले सिफारिस पठाएको केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज सुमनराज प्याकुरेलले उम्मेदवारी पाउनुपर्ने माग गरेका छन्।

एमाले केन्द्रीय सदस्य प्याकुरेल क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा रहेका छन्। तर यो क्षेत्रमा वाम गठबन्धनले माओवादी केन्द्रका अशोककुमार मण्डल (अमर)लाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ।

मण्डल यसअघि दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। एमालेका युवा नेताले भने प्याकुरेललाई यस क्षेत्रमा नदिइएकाले बाध्य भएर आफूहरु भोक हडतालमा बस्नुपरेको बताएका छन्।

राजविराजस्थित एमालेको पार्टी कार्यालयमा भोक हडताल बसेका उनीहरुले प्याकुरेललाई टिकट नदिएसम्म अनसन बसिरहने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell