PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

'एकादेशमा' दुई खुट्टा बिहिन पात्रको साहसको कथा 'जस्ट गो'



पहिलोपोस्ट

'एकादेशमा' दुई खुट्टा बिहिन पात्रको साहसको कथा 'जस्ट गो'

यथार्थ पात्रमाथि निर्मित लघु फिल्म हो 'जस्ट गो'। बाल्यकालमा दुर्घटनामा परेर खुट्टा गुमाएको २४ वर्षीय जस्ट छिमेकी २३ वर्षीय इभालाई मन पराउँछ। त्यही युवाको जीवनको एउटा घटनालाई निर्देशन गरेका हुन् पावेल्स गुम्मेन्कोव्सले।

११ मिनेट लामो लात्भियन फिल्मले फरक ढङ्गमा सक्षम पात्रको साहसी कथा भन्छ।

जस्ट (एलेक्सद्रस रोनिस)ले मन पराएकी केटी इभा (जाना हर्बस्टा)को पर्स दुई केटाहरुले लुटेपछि फिल्म शुरु हुन्छ। ह्विलचियरको सहारामा रहेको जस्टले घटना सहन सक्दैन र चोरहरुलाई लखेट्छ। कहिले गाडीमा, कहिले दुई हातले घिस्रिएर त कहिले स्केटिङ बोर्डको सहायतामा उसले दुई चोरबाट इभाको पर्स फिर्ता ल्याउँछ। जुन संघर्षका कारण इभा प्रभावित हुन्छिन्।

एलेक्सद्रसको जीवनमा घटेको घटनाबाट लिइएको कथाले फरक ढङ्गले शक्तहरुको क्षमतामाथि उठ्ने प्रश्नको जवाफ दिन्छ। जसमा उनी स्वयंमको मुख्य अभिनय रहेको छ। फिल्ममा एलेक्सद्रस रोनिससँगै जाना हर्बस्टा, टम्स वेलिको, सर्जेस जोडोरोव्स लगायतको पनि अभिनय रहेको छ। फिल्मको पटकथा लौरा लापिनाले लेखेका हुन्। एलेक्सद्रसको साहस र आत्मविश्वास फिल्ममा देखाइएको घटनामा मात्र सिमित छैन। उनी भलिबल खेलाडीसमेत हुन्।

फिल्म बारे निर्देशक पावेल्सले भनेका छन्,'जस्ट गो मैले काम गरेकोमध्य सबैभन्दा गाह्रो प्रोजेक्ट हो। ११ मिनेटको फिल्मको रिहरसलको लागि मात्र चार महिना लागेको थियो। किनकी मुख्य पात्र अभिनय, कलाबाट धेरै टाढा थिए।'

'एकादेशमा' लघु फिल्म फेस्टिभलको पाँचौं संस्करणमा न्यारेटिभ ड्रामा 'जस्ट गो' पनि प्रदर्शन हुँदैछ। कमलपोखरी क्युएफ एक्समा १६ नोभेम्बरदेखि सुरु हुने फिल्म फेस्टिभल १९ तारिखसम्म चल्नेछ। फेस्टिभलमा जस्ट गोसँगै इन्डिया, अमेरिका, इरान, जर्मनी, नेदरल्यान्डस्, इटाली, अष्ट्रिया, बेलायत, फ्रान्स, बङ्गलादेश, साइप्रस, क्यानडा, स्पेन, बोस्निया हर्जगोभिना, बोल्जियम, पोल्यान्ड, फिलिपिन्स, स्विजरल्यान्ड लगायतका देशबाट ५३ वटा लघु फिल्म प्रदर्शन हुनेछन्।

नेपाली छोटो सिनेमाहरु 'म भोली जन्मनेछु', 'थिएटर्स अफ रियालिटी', 'माइला दाइ', 'द बाइसाइकल किड', 'अस्तित्व', 'मदर', 'द सिलभप ब्याङ्गल', 'च्यान्टी', 'लछामानिया', 'जालगेडी','परिक्षा', 'कोख', 'रुवा', 'रोएर होइन हाँसेर', 'शिखा मैनबत्तीको', 'ग्याल्मुज हाउस' प्रदर्शन हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell