
काठमाडौं : ७३ वर्षीय कुख्यात 'विकिनी किलर' चार्ल्स शोभराज सुन्धराको केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन्। कारागारभित्र बस्दा शोभराज केही न केही गरी रहन्छन्। त्यसैले कारागाराका केही सुरक्षाकर्मी शोभराजलाई 'नौटङ्कीबाज' भनेर चिन्ने गर्दछन्।
भदौको पहिलो सातामा शोभराज कैद हटाउन माग गर्दै आमरण अनशनमा बसे। तर शोभराजको माग कसैले नसुनेपछि बाध्य भएर उनको अनशन तुहियो। कारागारमा खटिएका एक सुरक्षाकर्मी भन्छन् 'आमरण अनशन बसे पनि उनले लुकेर खाएको पत्ता लगायौँ।'
२०७१ साल असोजमा भक्तपुर जिल्ला अदालतले क्यानेडियन क्यारियलको हत्यामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। शोभराज भक्तपुर अदालतले तोकेको सजाय अहिले भुक्तान गरेको सजायमा नै मिनाहा हुनुपर्ने भन्दै अनशनमा उत्रिएका हुन्।
उनले 'कैद हट'को माग गर्दै सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन्। कारागारमा उहिले पनि शोभराजलाई भेट्न पुग्ने मानिसको कमी छैन। एक सुरक्षाकर्मीले भने 'कहिले को कहिले को भेट्न त आइ नै रहेका हुन्छन्। धेरै जसो वकिलसँग नै उहाँको भेटघाट हुन्छ।'
शोभराज २०३२ पुस ८ गते अमेरिकी नागरिक कोनिजो ब्रोनिजको हत्या अभियोगमा कर्तव्य ज्यान र जाली राहदानी मुद्दामा १४ वर्षदेखि कैद सजाय भोगिरहेका छन्। शोभराजलाई यसबाहेक २०३२ साल पुस ६ गते भक्तपुरको साँगामा क्यानेडियन नागरिक लरेन्ट अरमान्ड क्यारियलको हत्या गरेकोमा थप सजाय भोग्नुपर्ने हुन्छ।
२०६० साल असोज २ गते रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा चार्ल्सलाई प्रहरीले पक्रेको हो। हत्या र फर्जी राहदानीको मुद्दामा जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। मुटुको भल्भमा समस्या भएपछि जेठ २९ उनको मुटुको अप्रेसन गरिएको थियो। असार १५ गतेमात्र उनी अस्पतालबाट कारागार फर्किएका हुन्। अहिले पनि शोभराज स्वास्थ्य परिक्षणको लागि अस्पताल जाने गरेको कारागार प्रमुख डिएसपी राजकुमार सिलवालले बताए।
कारागारमा खटिएको केही सुरक्षाकर्मीले रमाइलो कैदीको रुपमा लिने गर्छन् चार्ल्स शोभराजलाई। तर अहिले उमेरले पाक्दै गएपछि पहिले जस्तो छैनन्।