
- शुरबहादुर सिंह
प्रतिष्ठानले कर्णालीमा स्वास्थ्य सेवा तथा शिक्षाको प्रभावकारी सञ्चालन गरिरहेको बेला स्वास्थ्य अनुसन्धानको थालनी गरेको बताएको हो।
प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्लेले स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्य शिक्षा दिँदै आएकामा यो वर्षबाट स्वास्थ्य अनुसन्धानलाई अघि बढाइएको जानकारी दिए।
वाग्लेले भने,‘हामीले कर्णालीको मुगु, जुम्ला र कालिकोटमा सर्वे सम्पन्न गरिसकेका छौं, अब प्रतिष्ठानको कार्य क्षेत्रअन्तर्गत तत्कालीन पिछडिएको नौ जिल्लामा स्वास्थ्य सर्वेक्षण थाल्छौं।’
प्रतिष्ठानले सबै जिल्लाको स्वास्थ्य अवस्थाको तथ्यांक लिन्छ र सोहीअनुसार उपचार सेवाको मार्ग खोल्न अनुसन्धान प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ।
उनले कर्णालीमा विद्यमान रोगको अवस्था, स्वास्थ्यसँग सम्बन्धित आहार, सरकारी स्वास्थ्य संरचनाको सेवा प्रवाहजस्ता महत्वपूर्ण विषय सर्वेक्षणमा आउने बताए।
प्रतिष्ठानले अस्पतालको सेवाअन्तर्गत १०० श्ययाको अस्पताल सञ्चालन, १७ जना विशेषज्ञ डाक्टरसहित १५० जना जनशक्तिले सेवा र सस्तो दरमा ठूला शल्यक्रिया जुम्लामा गर्दै आएको छ।
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार गतवर्ष २९ हजार ९३४ जना बिरामीले सेवा लिएकामध्ये दुई हजार ४९१ को ठूलो शल्यक्रिया भएको थियो।
त्यसैगरी विपन्नलाई निःशुल्क उपचार, स्वास्थ्य बीमा सुरु, स्टाफ नर्स चौंथो र हेल्थ असिष्टेन्ट तेस्रो ब्याज सञ्चालन गरिहेको उनले जानकरी दिए। उनका अनुसार ऐनले व्यवस्था गरेबमोजिम ४५ प्रतिशत पिछडिएको क्षेत्रका व्यक्तिले अध्ययन गर्ने अवसर प्राप्त गर्दै आएका छन्।
अस्पताल निर्देशक धर्मराज गोसाईंले ६ नं। प्रदेशकै उत्कृष्ट सेवा दिइरहेको हिमाली क्षेत्रमा स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासमा साझा चिन्तन आवश्यक रहेको औंल्याए।
दुई वर्षपछिको सिनेट बैठक उपलब्धिमूलक
प्रधानमन्त्री अध्यक्ष रहेको प्रतिष्ठानको सिनेट बैठक उपलब्धिमूलक भएको प्रतिष्ठानले जनाएको छ। दुई वर्षसम्म सम्पन्न हुन नसकेको सिनेट बैठकमा बहुसरोकारको स्थानीयवासीले निःशुल्क दिएको एक हजार ५०० रोपनी जग्गा पास गराउन पहल गर्ने, स्वास्थ्य शिक्षाको ‘ब्याचलर अफ मिडवाफ्री’ सञ्चालन गर्ने, कर्णालीका अन्य जिल्ला र ६ नं प्रदेशमा विशेषज्ञ सेवा सुरु गर्ने, महत्वपूर्ण बहिरंग विभाग सञ्चालन गर्नेजस्ता निर्णय भएको निर्णयमा उल्लेख गरिएको छ।
सिनेटमा वार्षिक प्रतिवेदन, महालेखानिरीक्षक प्रतिवेदन, आर्थिक वर्ष २०७३/७४ को आर्थिक प्रतिवेदन पाससमेत भएको जनाइएको छ।
तीन सय श्ययाको भवन हस्तान्तरणको तयारीमा
प्रतिष्ठानको ३०० श्ययाको भवन निर्माणको कार्यको अन्तिम चरणमा पुगेको छ। ७५ करोड रुपैयाँको लगानीमा निर्मित राष्ट्रिय गौरवको प्रतिष्ठानको भवन सम्झौता गरिएकै अवधिमा हस्तान्तरण गर्ने तयारी छ । अब प्रतिष्ठानले विशेषज्ञ सेवामा थप गुणस्तरता दिने बताइएको छ।
यसैगरी प्रतिष्ठानले नेपालगञ्जबाट आयात गरिरहेको अक्सिजन प्लान्ट र ब्लड बैंक जुम्लामा पनि व्यवस्था गर्ने जनाएको छ।रासस