काठमाडौँ : चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर संघर्ष गरिरहेका डाक्टर गोविन्द केसीले न्यायपालिका क्षेत्रको भ्रष्टाचारविरुद्ध लड्ने बताएका छन्। व्यवस्थापिका र कार्यपालिका जस्तै न्यायपालिका पनि माफियाको इसारामा चलेको हुनाले अबको लडाईँ न्यापालिकाको नेतृत्व विरुद्ध हुने डा. केसीले बताएका हुन्।
सर्वोच्च अदालतले नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि डाक्टर केसीले पहिलोपोस्टसँग यस्तो बताएका हुन्।
‘सबैले सम्मान गर्नुपर्ने सर्वोच्च अदालतमा अहिले गलत नेतृत्वको कारण न्याय बिक्री भएको छ। जनताको अधिकार र संविधानको मर्म विपरीत फैसला हुँदा तीन करोड नेपालीको स्वास्थ्यमा खेलवाड भएको छ,’ डा. केसीले भने, ‘अबको मेरो लडाईँ न्यापालिकाको नेतृत्वविरुद्ध हुनेछ। सर्वोच्च जस्तो सम्माननीय अदालतले माफियाको इसारामा चलेर जनताप्रति घात गर्न मिल्दैन।’
काठमाडौं नेशनल कलेजका तर्फबाट जैनुद्दिन अन्सारीले असोज ३१ गते रिट दर्ता गरेका थिए। कार्तिक ८ गते न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले सम्बन्धन खारेज गर्ने निर्णय कानुनसम्मत नभएको भन्दै कार्यान्वयन गर्न रोक लगाएको थियो।
गत साउन १२ गते डा. केसी अनसन बसिरहेको बेला काठमाडौँ नेशनल कलेजलाई त्रिवि कार्यकारी परिषदले गुपचूप सम्बन्धन दिएको थियो। आवश्यक पूर्वाधार नपुगेको र सुनसान कलेजलाई सम्बन्धन दिएपछि चौतर्फी विरोध भएको थियो। डा. केसीको अनशन र चौतर्फी विरोध भएपछि गत भदौ ३१ गते त्रिभुवन विश्वविद्यालयले नेशनल कलेजको सम्बन्धन खारेज गरेको थियो।
सम्बन्धित समाचार
डिस्काउन्टको विज्ञापन छापिए पनि नेशनल मेडिकल कलेज सुनसान, हेर्नुस् फोटो