काठमाडौं : विहीबार, २ नोभेम्बरबाट 'फिल्म साउथ एसिया' सुरु हुँदैछ। यो डकुमेन्ट्री महोत्सवको २० वर्षे इतिहासमा यो पटक सर्वाधिक धेरै डकुमेन्ट्री देखाइने भएको छ। अडिशनका लागि आएका ३०० मध्ये ६३ डकुमेन्ट्री प्रदर्शन हुने भएका हुन्।
तीन दिन लामो डकुमेन्ट्री महोत्सवमा प्रदर्शन हुने फिल्महरुको थिम महिला अधिकार, लैङ्गिकता र समानता, कला, वर्क एण्ड लेभर, मानव अधिकार गरी चार विषयमा विभाजन गरिएको छ। जसमा ४५ डकुमेन्ट्री भने पाँच फरक उपाधिका लागि प्रतियोगितामा रहेका छन्।
प्रतियोगितामा दुई हजार अमेरिकी डलर पुरस्कार सहितको राम बहादुर बेस्ट फिल्म अवार्ड, एक हजार अमेरिकी डलर पुरस्कार सहित रनर्स अप, तारिक मसुद बेस्ट डेब्यु फिल्म अवार्ड र युनिसेफ बेस्ट फिल्म अन चिल्ड्रेन इस्यु साथै पाँच सय अमेरिकी डलर पुरस्कार सहित बेस्ट स्टुडेन्ट फिल्म अवार्ड प्रदान गरिनेछ। जसका लागि प्रकाशक कुन्दा दिक्षित, पाकिस्तानी फिल्मकर्मी फरजाद नबी र भारतिय पत्रकार राजाश्री दासगुप्ता निर्णायक रहनेछन्।
चार महिना लामो चयन प्रक्रियापछि सुरु हुन लागेको फिल्म फेस्टिभलको सुरुवात 'फायरफ्लाइज इन द एविस' प्रदर्शनबाट हुने बताइएको छ। ८८ मिनेट लामो डकुमेनट्रीले मेघालय कोयला खानीमा काम गर्ने नेपाली मजदुरको जीवनकथा प्रस्तुत गर्छ। त्यस्तै क्लोजिङ फिल्मको रुपमा 'कन्ट्रीयार्ड' देखाउने जनाइएको छ।
फोस्टिभल बारे फिल्म साउथ एसियाका प्रमुख कनकमणी दिक्षितले भने,'अफ्ठ्यारो अवस्थामा राम्रो वृत्तचित्र बन्छन्। स्वतन्त्र वृतचित्र निर्देशकहरुको तीनै राम्रा डकुमेन्ट्री प्रदर्शनका लागि छानेका छौं जसले मानव भोगाईको विविध आयाम समेट्छ।' पाटनढोका, यलमाया केन्द्रमा प्रदर्शन हुने डकुमेन्ट्रीहरु विद्यार्थीहरुले तयार गरेको वृत्तचित्र र विद्रोहका वृत्तचित्र नाम दिइएको दुई समुहमा विभाजित गरिएको जानकारी दिक्षितले दिए।
फेस्टिभलकी निर्देशक नीतु वर्माले काठमाडौंको दर्शकले आफूलाई निराश नबनाउने आश व्यक्त गरिन्। भनिन्,'यसअघिको संस्करणमा नेपालमा नाकाबन्दी थियो। त्यो अप्ठ्यारो अवस्थामा पनि दर्शकको भिड पायौं। त्यो भिडले योपटक अझ राम्रो गर्ने प्रोत्सहान दियो।'