
काठमाडौँ: दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मनोनयन सुरु भएको छ। ४५ जिल्लाका एक सय २८ प्रतिनिधिसभा र दुई सय ५६ प्रदेशसभाका लागि अहिले मनोनयन भइरहेको छ। मनोनयन अपराह्न ५ बजेसम्म हुनेछ।
विवेकशीला साझा लगायतका साना दलका प्रतिनिधिहरु दर्ता स्थलमा आइसकेका छन्। अन्य ठूला दलका नेता तथा कार्यकर्ता भने मनोनयनस्थल आइपुगेका छैनन्। विवेकशीला साझाका तर्फबाट रवीन्द्र मिश्रले काठमाडौँ १ मा प्रतिनिधिसभातर्फ मनोनयन दर्ता गराइसकेका छन्।
उम्मेदवारी दर्तापछि मिश्रले आफ्नै कालमा देश रुपान्तरणको पक्षमा भएको बताए। तीन प्रतिशत भोट ल्यार्इ राष्ट्रिय पार्टी बनेर संसद्मा प्रतिनिधित्व गर्ने उनले दाबी गरे।
यस्तै, काठमाडौँ २ बाट सूर्यराज आचार्यले उम्मेदवारी दिएका छन्। २ को प्रदेशसभातर्फ ‘क’मा ऋषिका भट्टराई र ‘ख’मा केशव पौडेलले मनोनयन दर्ता गराएका छन्।
काठमाडौँमा स्वतन्त्र उम्मेदवारमा हरेराम तिमिल्सिनाले पहिलो उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रियसभा भवन प्रदर्शनीमार्गमा तिमिल्सिनाले काठमाडौँ ३ बाट प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन्।