PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

तनहुँमा रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशीको बागी उम्मेदवारी दर्ता



नरहरि पौड्याल

तनहुँमा रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशीको बागी उम्मेदवारी दर्ता

पोखरा : तनहुँ क्षेत्र नम्वर १ बाट नेपाली कांग्रेसका बागी उम्मेदवार गोविन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन्। 

जोशीले नेपाली कांग्रेसका नेता रामचन्द पौडेलविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन्। ठूलो संख्यामा नेता कार्यकर्तासहित जोशीले निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए।

त्यसैगरी, नेपाली कांग्रेस कास्कीका नेता नरेशशंकर पालिखेले क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

पार्टीले स्थानीय निकायको निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा सहमति गरेर रातारात रामजी कुँवरलाई उठाएपछि पार्टीप्रति क्रुद्ध बनेका पालिखेले संसदीय र प्रदेश सभामा समेत टिकट नपाएपछि बागी उमेदवारको रुपमा स्वतन्त्र दर्ता गराएका हुन्। 

उनले उम्मेदवारी दर्ता गरेको क्षेत्रमा पार्टीले व्यवसायी विन्दु कुमार थापालाई टिकट दिएको छ। पार्टीको आधिकारिक उम्मेदवारभन्दा अघि नै निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका छन्। 

पालिखेले पार्टी नेतृत्वले टिकट वितरणमा योग्य उम्मेदवार चयन नगरेको र लामो समयदेखि क्रियाशील कार्यकर्ताको मुल्याङ्कन नभएको भन्दै उम्मेदवारी दर्ता गराएको बताएका छन्।

नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष, सचिव, पोखरा नगर सभापति, नगरपालिकाका उपमेयर र पोखरा उपत्यका नगर विकास समितिका अध्यक्षसमेत भइसकेका पालिखेले आफ्नो उम्मेदवारी कुनै हालतमा फिर्ता नहुने बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell