भद्रपुर : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि झापा जिल्लाको सदरमुकाम चन्द्रगढीस्थित निर्वाचन अधिकृतको कार्यालयहरुमा उम्मेदवारहरुले उत्साहका साथ आ–आफ्ना मनोनया दर्ता गरिरहेका छन्।
आगामी मंसिर २१ हुने सो निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मनोनयन दर्ता गराएका छन्।
सोही क्षेत्रको प्रदेश सभाका लागि कांग्रेस (क)बाट भूमिराज राजवंशी र (ख) बाट भगिरथ पोदारले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन क्षेत्र नं ३ बाटै प्रतिनिधि सभाका लागि राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन्। वाम गठबन्धनका तर्फबाट लिङ्देनको उम्मेदवारीसँगै राप्रपाले झापाको कुनै पनि क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारी दिएको छैन।
यसैगरी, सो क्षेत्रबाट प्रदेश सभाका लागि वाम गठबन्धन (क)बाट वसन्त बानियाँ र (ख) बाट पूर्णसिंह राजवंशीले उम्मेदवारी दिने भएका छन्।
क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् भने सोही क्षेत्रका लागि प्रदेश सभाका लागि (क) बाट केशव पाण्डे र (ख)बाट अशोक पोखरेलले उम्मेदवारी दिएका छन्।
सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाका लागि वाम गठबन्धनबाट राम कार्की (सुरेन्द्र कार्की) र प्रदेश सभाका लागि (क)बाट श्रीप्रसाद मैनाली र (ख)बाट गोपाल बुढाथोकीले उम्मेदवारी दिने भएका छन्। रासस