काठमाडौ: 'सबै मान्छेसँग फरक फरक क्षमता हुन्छ। कसैसँग बोल्ने कसैसँग काम गर्ने। मसँग काम गर्ने क्षमता छ।' अभिनेता सौगात मल्ल कन्फिडेन्ट सुनिन्छन्। सँगै बसेका फिल्म 'फाटेको जुत्ता' निर्माता अर्जुन कुमार भने उनको जवाफसँग सन्तुष्ट सुनिदैनन् सायद। भन्छन्,'यस्तो हुन्छ। फिल्मको कलाकार प्रचारमा हिडेपछि केही बोलिदिए हुन्थ्यो भन्ने त लाग्छ नै। तर सौगातको त्यो बानी छैन। त्यसैले (निर्देशक निकेश खड्का तिर देखाउँदै) हामी आफै बोली रहेका हुन्छौं।'
उसो त फिल्मको प्रचारमा निर्माता, निर्देशकलाई अभिनेता सौगात मल्ल मात्रको साथ रहेको देखिन्छ। मुख्य अभिनेत्री प्रियङ्का कार्की फिल्म शत्रु गते छायांकनमा व्यस्त छिन्। यो अवस्थामा प्रचार प्रसारमा हिड्ने सौगात मल्ल पनि मिडिया फ्रेन्ड्ली नभैदिनुले अर्जुन कुमार आफै अन्तरवार्ताहरुमा सक्रिय रहनुको कारण हो। भन्छन्,'बोल्न नजान्ने निर्माता हुने हो भने त ग्वां ग्वां रुन्छ। हामी त केही फिल्म पहिला पनि निर्माण गरेको भएर त्यती समस्या भएको छैन।'
सौगात मल्लको थोरै बोल्ने व्यवहारले केही हदको असर गरे पनि फिल्म प्रचारमा उनको अभिनयले साथ दिएको अर्जुन कुमारको विश्वास छ। कमेडी जनराको फिल्म 'फाटेको जुत्ता'मा सौगात मुख्य पात्र हुन्। ट्रेलर र सरी सङमा उनको प्रस्तुतीले दर्शकको तारिफ बटुलेको छ। 'मिन्टु' पात्रको रुपमा देखिएका सौगातको जीवन फाटेको जुत्ता जस्तै हुन्छ', फिल्मको नाम र पात्रको सम्बन्ध यसरी बुझाउँछन् निर्देशक खड्का।
निर्देशक सौगातले निभाएको चरित्र र अभिनयमा न्याय गरेको बताउँछन्। 'अरु अभिनेता भएको भए पनि अभिनय त गर्नु हुन्थ्यो होला तर कथा, पृष्ठभूमीले जुन पात्र मागेको छ त्यो पाउँदैनथ्यौं।'
सौगात नवलपरासीका हुन्। तराई क्षेत्रमा हुर्किएको भएपनि उनलाई गर्मी फाप्दैन। गर्मीले उनको स्वास्थ्य बिगार्छ। पछिल्लोपटक फिल्म संरक्षणको छायांकनका लागि उनी लामो समय तराई बसे। उनलाई कहिले सुटिङ सकिन्छ र फर्किन्छु जस्तो भएको थियो। छायांकन सकिए लगत्ते उनले कसम खाएका थिए, अब चाहिं जे परे पनि लामो बसाईको लागि तराई नआउने भन्ने। तर जब फाटेको जुत्ताको स्क्रिप्ट पढे उनले नाईं भन्न सकेनन्।
‘तराईमा मैले जुन पात्रहरुलाई यथार्थमा देखेर हुर्किएँ तीनै पात्र बन्न पर्ने रहेछ। त्यो भूमिका निभाउनका लागि मैले आफैसँग खाएको कसम तोडें।’ फिल्म हेर्नेलाई काल्पनिक कथा जस्तो मात्र लागे पनि यथार्थमा त्यस्ता पात्र हुन्छन् भन्ने आफूले बुझेकै कारण ती पात्रहरुको जीवन बाँची हेर्न मन लागेको उनी सुनाउँछन्। त्यो जीवन जुन फाटेको जुत्ता जस्तै हुन्छ, फाल्न पनि नसकिने र लगाउन पनि लाज। ‘आजभोली मोफसलका कथा पनि फिल्ममा देखाइन थालिएको छ। यो कुरा निकै मनपर्छ। देखाउन आवश्यक अर्को कुनै फिल्मको अफर आयो भने त्यसको लागि फेरी कसम तोड्छु।’
केही समय यता लगातार फिल्म दिइरहेका सौगात मल्लको भर्सट्यालिटीको बयान खुलेर गर्छन् निर्माता अर्जुन कुमार भन्छन्। जुन चरित्र निभाउँदै हुन्छ त्यसैको जीवन बाँचिदिन्छ। त्यसैले पनि उनको अभिनय जीवन्त लाग्छ। सौगात नबोलेर के भयो? उसको अभिनय नै बोल्छ।‘ सुरुमा काठमाडौं आउँदा त सौगातलाई आफूले खोजेजस्तो फिल्म नै बन्दैन भन्ने लागेको थियो। त्यसैले रङ्गमञ्च तिरै रमाउन थाले।
पुराना फिल्महरु रणभूमी, पन्छी, दाग जस्ता फिल्ममा पनि साइड भूमिकामा देखिएका छन्। तर दर्शकले नोटिस गरेनन्। कागबेनीको स्क्रिप्ट नपाएसम्म उनले फिल्म क्षेत्रमा आजसम्म निरन्तरता दिन्छु भन्ने सोचेका थिएनन्। 'सानो फिल्म हेर्न पाए पुग्थ्यो। कतिवटा फाइट सिन र कतिवटा गीत छ भनेर फिल्म हेर्नुमा र आफूले काम गर्न छान्नुमा धेरै फरक हुने रहेछ।' म्याथ र अकाउन्टका कारण आफ्नो स्कूले जीवन नरमाईलो भएको बताउने सौगात पढाईमा कमजोर तर म नाच्न र अभिनय गर्न भनेपछि जहिले पनि तयार। फिल्म हेर्न जम्मा गरेको पैसामा एक रुपैयाँ, पचास पैसा नपुग्दा हलको ढोकाबाट कान थापेर डायलग मात्र सुनेर भएपनि पर्कन्थे। घरमा काम गर्न बसेको रेनवा भने गाउँमा पूजा, विवाह आदीमा देखाइने फिल्म हेर्न जसरी पनि पुग्ने। 'आँका रातो बनाएर फर्किएको उ भाडा माझ्दै फिल्मको कहानी भन्थ्यो। त्यही सुनेर पनि रमाउँथे।'
यसरी नै जोडिए सौगात मल्ल फिल्मसँग। फिल्म खेल्न भनेर नवलपरासीबाटै ज्यान बनाएर आएका उनी अहिलेका सबैभन्दा व्यस्त अभिनेता हुन्। 'केही धेरै नै फिल्म गरें की जस्तो पनि लाग्दैछ। अब चाहिं छानेर वर्षमा तीनवटासम्म गर्ने विचारमा छु', उनले आफ्नो योजना सुनाए।
सौगात अभिनित फाटेको जुत्ता कार्तिक १७ गतेबाट सार्वजनिक हुँदैछ। फिल्ममा उनी र प्रियङ्का कार्कीसँगै रबिन्द्र झा, अनुज पाण्डे, कामेश्वर चौरासिया लगायतको पनि अभिनय रहेको छ। घोषणा भएको ५ वर्षपछि निर्मित फिल्मको कथा निरज महर्जनले लेखेका हुन्। फिल्मलाई निर्देशन निकेश खड्काले गरेका हुन्।