
काठमाडौं: मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि आज मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको नेपाल प्रहरीले जनाएको छ।
४५ जिल्लामा भएको मनोनयन दर्ताको क्रमममा कतै पनि झडप र विवाद नभएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेले बताए। उनले भने, 'सबै जिल्लाहरुमा मनोनयन दर्तामा कुनै समस्या भएन। प्रहरीले सबैतिर सुरक्षा व्यवस्था कडा बनाएको थियो।'
त्यस्तै मंसिर १० र २१ गते हुने निर्वाचनमा सुरक्षाको सबै तयारी पूरा भएको उनले बताए।
निर्वाचन सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत ९८ हजार म्यादी प्रहरीसमेत परिचालन गरिनेछ। डिआइजी न्यौपानेले भने, 'संवेदनशिलतालाई हेरेर सुरक्षा व्यवस्था मिलाएका छौं। अहिलेसम्म कुनै सुरक्षा चुनौति छैन।'
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्वाचनमा नेताहरुको सुरक्षा ध्यान दिन सुरक्षा निकायलाई निर्देशन दिएका थिए। दलहरुबीचको धुव्रीकरणका कारण निर्वाचनमा केही सुरक्षा चुनौति रहेको आयोगको बुझाइ छ।
नेपाल प्रहरीले आयोगको निर्देशनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाएको डिआइजी न्यौपानेले बताए। 'नेतादेखि मतदातासम्म सुरक्षित हुने गरी सुरक्षा रणनिति बनाएका छौ,' उनले भने।