
धनकुटा: दोस्रो चरणमा हुने भनिएको मंसिर २१ गतेका लागि तय भएको निर्वाचनका लागि धनकुटामा १० वटा मतदान केन्द्र थप भएको छ। जिल्ला निर्वाचन कार्यालय, धनकुटाका अनुसार धनकुटामा ११७ मतदानस्थलमा १५३ मतदान केन्द्र निर्धारण गरिएको छ।
तीन नगरसहित सात स्थानीय तह रहेको जिल्लामा कूल एकलाख पाँचहजार १८८ मतदाता रहेका जिल्ला निर्वाचन कार्यलयका सूचना अधिकारी केशव पौडेलले बताए।
पौडेलका अनुसार जिल्लामा नौ हजार ८१६ जना मतदातासमेत थप भएका छन्। आगामी मंसिर २१ मा हुने प्रदेश र केन्द्रको निर्वाचनलाई लक्षित गरी धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता लागू भएको बारेमा जानकारी दिएको छ भने सुरक्षा संवेदनशीलता पहिचान गरी कडा सुरक्षा व्यवस्था गरिने समेत जनाएको छ।
निर्वाचन आचारसंहितामा यसपटक थपिएको विषयमा उम्मेदवारको नाममा रंगीन पर्चा, टिसर्ट, टोपी, ट्याटु लगायतका प्रचार सामग्री निषेध गरिएको आचारसंहितामा उल्लेख छ।
धनकुटा सदरमुकामस्थित सामुदायिक भवनमा राजनीतिक दल, सुरक्षा निकाय र सञ्चारकर्मीको भेलामा प्रतिनिधि सभामा एक क्षेत्र र प्रदेश सभाका लागि दुई क्षेत्र निर्धारण गरी निर्वाचन घोषणा सँगै दलहरुलाई आचारसंहिता पालना गर्नुपर्ने व्यवस्था रहेको जिल्ला निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले बताए। रासस