PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

जाजरकोटका ७२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा



पहिलोपोस्ट

जाजरकोटका ७२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

जाजरकोट :  जाजरकोटमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका ७२ मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा रुपमा राखिएको छ। 

सुरक्षा संवेदनशीलताका आधारमा ८५ वटा मतदानस्थलमध्ये ७२ वटालाई अतिसंवेदनशीलको सूचीमा रुपमा राखिएको हो। सुरक्षा चुनौतीको विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिले जिल्लाका मतदान केन्द्रको वर्गीकरण गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए। १३ मतदान केन्द्रलाई सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरिएको छ। 

जिल्लामा ८५ मतदानस्थलअन्तर्गत ११६ मतदान केन्द्र तोकिएको छ। गत स्थानीय निर्वाचनमा १२ मतदानस्थललाई अतिसंवेदनशील, २८ संवेदनशील र ४५ मतदानस्थललाई सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरेको थियो।

आसन्न निर्वाचनमा सुरक्षा निकायले ८५ प्रतिशत मतदानस्थललाई अति संवेदनशील स्थलका रुपमा किन राख्यो त ? प्रहरी प्रमुख रिमाल भन्छन्,‘सुरक्षा थ्रेट र प्रहरीलाई प्राप्त विभिन्न सूचनाका आधारमा हामीले ती मतदानस्थललाई अतिसंवेदनशील स्थलका रुपमा राखेका हौँ।’ 

स्थानीय प्रशासनले जाजरकोटका खासगरी नेत्रविक्रम चन्द विप्लवको नेपाल कम्युनिष्ट पार्टीबाट सबैभन्दा बढी सुरक्षा चुनौती महसुश गरेको छ।

सुरक्षा निकायले मतदानस्थललाई देशभर सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा विभाजन गरेर सोही अनुसार सुरक्षाकर्मी परिचालन गर्ने गरेको छ। अतिसंवेदनशील मतदानस्थलमा सुरक्षाकर्मी पनि अन्यको तुलनामा बढी परिचालन गर्ने व्यवस्था गरिएको छ।रासस


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell