काठमाडौं : चर्चित लोकगायिका कोमल वलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएपछि एमाले नेताहरुले उम्मेद्वारी फिर्ता लिन आग्रह गरेका छन्।
केही समयअघि मात्र नेकपा एमालेमा प्रवेश गरेकी वलीले टिकट नपाएपछि स्वतन्त्रमा उम्मेद्वारी दिएकी हुन्। पहिलोपोस्टसँगको कुराकानीमा वलीले भनिन्,‘केही एमाले नेताहरुले फोन गरेर तपाईँले उम्मेद्वारी फिर्ता लिनुपर्यो भनिरहनुभएको छ। एमाले नेता शंकर पोख्रेलले फिर्ता लिनु भन्नुभएको छ।’
उनी भने उम्मेद्वारी फिर्ता लिने नलिने बिषयमा प्रष्ट भने भइसकेकी छैनन्। ‘फिर्ता लिन्छु लिन्न कुनै निर्णयमा पुगेको छैन सायद उम्मेद्वारी फिर्ता लिन्नहोला।’
रेडियो नेपालको जागिर छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी वली निर्वाचित केन्द्रीय सदस्यसमेत भएकी थिइन्।
राप्रपा विभाजन भएसँगै वली एमाले प्रवेश गरेकी थिइन्। एमालेमा राजनीतिक प्लेटफर्म हेरेर छिरेको बताउने वली एमालेले टिकट नदिएर अन्याय गरेको बताउँछिन्। ‘म यस ठाउँको स्थापित महिला हुँ, म चुनाव जित्न सक्छु तर एमालेले टिकट नदिएर मलाई अन्याय गर्यो ।’
दाङ निवासी कोमल वली परिवारको मतले नै जित हासिल गर्ने दाबी गर्छिन्।
आफ्नो क्षेत्रमा १२ हजार वली परिवार र आफन्त भएकाले त्यही भोट जितको आधार भएको उनी बताउँछिन।‘सबै वली परिवारले भोट दिएभनेपनि १२ हजार भोट आउँछ मेरो जित निश्चित छ।’