वासिङ्टन : अमेरिकाको म्यानहटनमा गत मङ्गलबार भएको आतङ्ककारी हमलामा आफ्ना सैनिकको हात रहेको आतङ्ककारी संगठन आइएसले दाबी गरेको छ।
आतङ्ककारी संगठनको प्रकाशनले जनाएको भनी बिहीबार अमेरिकामा सार्वजनिक गरिएको समाचारमा आइएसले न्युयोर्कमा हमला गर्ने व्यक्ति आफ्नो सैनिक भएको दाबी गरेको छ।
उनीहरुको प्रकाशन अल–नबा नामक साप्ताहिक छापामा सो जानकारी छापिएको थियो। साप्ताहिकको पछिल्लो संस्करणमा भनिएको छ– हाम्रा एकजना वीर सैनिकले गएको मङ्गलबार अमेरिकाको म्यानहटनमा आक्रमण गरी केहीलाई कारबाही पनि गरेका छन्।
संयुक्त राज्य अमेरिकाको स्थानीय समय अनुसार मङ्गलबार दिउँसो लोअर म्यानह्याटनको सडकमा एकजनाले फुटपाथ र साइकल लेनमा ट्रक कुदाएर कम्तीमा आठजनाको ज्यान लिएको थियो। उक्त घटनामा ११ जना गम्भीर घाइते भएका छन्।
न्यूयोर्कको म्यानह्याटनमा गराइएको ट्रक आक्रमणलाई अमेरिकी अधिकारीहरुले आतङ्कवादी कार्य हो भनेका छन्। आक्रमणकारीलाई प्रहरीले पक्राउ पनि गरेको छ। हाल उनी प्रहरी अनुसन्धानमा छन्।
न्युयोर्कमा सन् २००१ को सेप्टेम्बर ११ मा ओसामा बिन लादेनको नेतृत्वको आतङ्ककारी संगठनबाट भएको हमलापछि आतङ्ककवादसँग सम्बन्धित घटनामा नागरिकले ज्यान गुमाएको यो पहिलो पटक हो।
न्युयोर्कको प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। आतङ्ककारीलाई पछि प्रहरीले गोली हानेर पक्राउ गरेको थियो।
आतङ्ककारी हमलापछिको प्रतिक्रियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आइएस वा जुनसुकै स्वरुपका भएपनि आतङ्कवादी क्रियाकलापलाई परास्त गरी छोड्ने प्रतिबद्धता जनाएका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले आइएसलाई अब टाउको उठाउन नदिने र मध्यपूर्वबाटै आतङ्ककारी संगठन आइएसको अस्तित्व मेट्ने आफ्नो ट्वीटर अकाउन्टमा जनाएका थिए।
उनले बुधबार गरेको ट्वीटमा न्युयोर्क आक्रमणको आतङ्ककारीलाई मृत्युदण्डको सजाय दिइनुपर्ने बताएका छन्। रासस/एएफपी