
काठमाडौँ : सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न ‘कर्मचारी समायोजन नियमावली–२०७४’ को मस्यौदा तयार पारेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन ऐन प्रमाणिकरण गरेपछि मन्त्रालयले समायोजन नियमावलीको मस्यौदा बनाएको हो।
तयार पारिएको मस्यौदा मन्त्रालयले परामर्शका लागि अर्थ र कानुन तथा न्याय मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए।
नियमावलीमा संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि आवश्यक दरबन्दी तथा संगठन संरचना तयार पार्नका लागि समिति गठन गर्ने, स्वेच्छिक अवकाश लिने कर्मचारीलाई सेवा सुविधा, ६ महिनाभित्र संगठन संरचना तयार पारी कर्मचारी समायोजन गर्ने कुरा उल्लेख गरिएको न्यौपानेले बताए।
नियमावलीमा कुन तहमा कति कर्मचारी रहने गरी संगठन संरचना तयार पार्नका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गर्नेसमेत उल्लेख गरिएको छ।
नियमावलीमा तीन महिनाभित्र स्वेच्छिक अवकाशमा जाने÷नजाने कर्मचारीको व्यक्तिगत वितरण संकलन गरिने उल्लेख छ।
यस्तै कार्यरत पदको ज्येष्ठता, संघ, प्रदेश र स्थानीय तहको रोजाइ तथा स्थायी बसोवासका आधारमा कर्मचारी समायोजन गरिने नियमावलीमा उल्लेख छ।
प्रवक्ता न्यौपानेले नियमावलीलाई चाँडै ल्याई समायोजन कार्य थालनी गरिने बताए। उनले नियमावली ल्याइसकेपछि ६ महिनाभित्रमा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरिने स्पष्ट पारे।
सरकारले असोज २२ गते कर्मचारी समायोजन सम्बन्धी ऐन जारी गरेको थियो।रासस