PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

भूकम्पको केन्द्र बारपाकमा पुगेर बाबुरामले भने, चुनाव जिताए सडक कालोपत्रे



पहिलोपोस्ट

भूकम्पको केन्द्र बारपाकमा पुगेर बाबुरामले भने, चुनाव जिताए सडक कालोपत्रे

  • प्रशन्न पोखरेल 
गोरखा : भूकम्पले घर भत्किएपछि बनाएको टहरोमा नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीको संयुक्त झण्डा राख्दै बारपाकका मनबहादुर घलेले भने,‘स्थानीय तह निर्वाचनमा जुन पार्टीले असहयोग गर्यो उसैको झण्डा धुरीमा सजाउनुपर्यो।’ 

नेपाली कांग्रेस बारपाक कार्यसमितिका सभापतिसमेत रहेका घले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा पराजित भएका थिए। अहिले उनी कांग्रेस र नयाँ शक्तिको संयुक्त प्रचार प्रसारमा जुटेका छन्। 

कांग्रेसले नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई गोरखा–२ प्रतिनिधि सभा र गोरखा २ (क) प्रदेश सभा छाडेर गोरखा १ प्रतिनिधि सभा र प्रदेश सभाका साथै गोरखा २ को (ख) प्रदेश सभा लिएको छ।

गोरखा २ र (क) प्रदेश सभामा कांग्रेसले नयाँ शक्तिलाई सघाउने र अन्य क्षेत्रमा नयाँ शक्तिले कांग्रेसलाई सघाउने गरी संयुक्त चुनावी घरदैलो अभियान सुरु भएको छ। 

अहिले ‘गोरखा भूकम्प’ को केन्द्र बारपाकमा मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको रौनक देखिएको छ। गोरखा २ का उम्मेदवार डा भट्टराई, गोरखा २ प्रदेश सभा (ख) का उम्मेदवार कांग्रेसका प्रकाशचन्द्र दवाडी बारपाक पुगेपछि घरदैलो र चुनावी सभाले चुनावी रौनकता थपेको छ। भट्टराई र दवाडी बुधबार र बिहीबार बारपाकमा रहेका थिए। 

बारपाकीले टहरामा झण्डा फहराएका छन्। बारपाकका जितबहादुर घलेले भने,‘भर्खर चुनावी सभा तथा घरदैलो अभियान सुरु भएको छ। भोट कसरी हाल्ने भन्नेबारे वृद्धवृद्धालाई मतदाता शिक्षा दिन जरुरी छ। भोट कसरी हाल्ने हो भन्नेमा बारपाकी अन्योलमा छन्।’ 

दलहरुले मतदाता शिक्षा अभियान सुरु गरिसक्दा पनि निर्वाचन कार्यालयबाट भने मतदाता शिक्षाको कार्यक्रम शुरु भइसकेको छैन । प्रतिनिधि सभा र प्रदेश सभाका लागि बेग्लाबेग्लै मतपत्र छाप्ने भएपछि मतदाता शिक्षामा ढिलाइ भएको देखिन्छ । 

बारपाकबासीले विकास, निर्माणमा सहयोग पुर्याउने नेतालाई भोट दिएर जिताउने बताएका छन्। विगतमा खानेपानी, पक्की सडकलगायत विकासको आश देखाए पनि चुनाव जितेकाहरु फर्केर नआएको बारपाबासीको गुनासो छ।

घर बनाउन बालुवा चाल्दै गरेकी बारपाककी वृद्धा चिजमाया घलेले भनिन्,‘वृद्धभत्ता बढाउने, गाउँमा अस्पताल खोल्न जसले सघाउँछ उसैलाई भोट दिन्छौँ।’ 

सरकारी अनुदान लिएर नयाँ घर बनाउन सुरु गरेका बारपाकका युवा खमबहादुर घलेले पार्टीमा लागेका कार्यकर्ताले जस्तै चुनावी कार्यक्रमलाई समय दिन नसके पनि आफूहरु भोट हाल्ने दिनको प्रतीक्षामा रहेको बताए 

उनले भने,‘घर बनाउन १०/१५ लाख रुपैयाँ चाहिएला जस्तो छ। तर सरकारले तीन लाखमात्रै दिने भन्यो। कम्तीमा पाँच/सात लाख रुपैयाँ दिएको भए हुन्थ्यो।’

घर बनाउन सहयोग गर्ने, गाउँसम्मको सडक कालोपत्र गरिदिने, गाउँमा अस्पताल, विद्यालय निर्माणमा सहयोग गर्ने विकासप्रेमी नेतालाई भोट दिएर जिताउने घलेको भनाइ छ। 

भूकम्पपछि विस्थापित बारपाकबासीले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सघाउने नेतालाई भोट दिने बताएका छन्। बारपाकको दलित बस्ती, स्नान र मान्दे्र बस्ती सुरक्षित ठाउँमा सार्नुपर्ने भए पनि अहिलेसम्म प्रक्रिया सुरु भएको छैन।

चुनावी घरदैलो अभियानका लागि बारपाक पुगेका गोरखा २ प्रदेशसभा क्षेत्र (ख) का उम्मेदवार दवाडीले भूकम्पपछिको पुनःनिर्माण, गाउँसम्म आउने सडक, नियमित बिजुलीलगायत विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

यस्तै घरदैलो अभियानका क्रममा बारपाक पुगेका पूर्व प्रधानमन्त्री तथा गोरखा २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा भट्टराईले भूकम्पपीडितलाई घर बनाउन सरकारले कम्तीमा पाँच लाखका दरले अनुदान दिनुपर्ने बताए।

अर्थमन्त्री र प्रधानमन्त्री हुँदाका बखत बारपाकसम्म कच्ची सडक खुलाएको भन्दै भट्टराईले चुनाव जिताए एक वर्षभित्रमै बारपाकसम्म सडक कालोपत्र गर्ने आश्वासन दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell