
वासिङटन : अमेरिकी संसदमा डेमोक्रेटिक तथा रिपब्लिक पार्टीमा प्रभावशाली मानिने पाँचजना संसद सदस्यले म्यानमारको रोहिङ्ग्या समुदाय लक्षित मानव अधिकार उल्लङ्घनमा सम्लग्न रहेको आरोप लागेका उच्च सैनिक अधिकारीमाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरेका छन्।
म्यानमारको राखिने राज्यमा अल्पसङ्ख्यक मुशलमान रोहिङ्ग्या समुदायलाई लक्षित गरी यस बर्षको अगस्ट २५ पछि चलाएको सैन्य अभियानमा सयौँ जनाको मृत्यु भएको र करिब छ लाख जना विस्तापित भएका थिए।
म्यानमारमाथि यहाँको अल्पसङ्ख्यक रोहिङ्ग्या समुदायलाई आफ्नो नागरिकका रूपमा स्वीकार गरेको छैन। म्यानमारले उनीहरू बङ्गलादेशबाट शरणार्थीका रूपमा राखिने आएको जनाउँदै आएको छ।
जोन म्याककेन, बेन कार्डिन, डिक डर्विन, मार्को रुवियो र टोड योङको प्रस्तावमा म्यानमारका केही उच्च सैनिकलाई विदेश भ्रमणमा जानबाट रोक लगाउनुपर्ने बताइएको छ। प्रस्ताव अमेरिकी कंग्रेसबाट पास भएमा म्यानमारको रोहिङ्ग्या आन्दोलन शान्त नहुँदासम्म निश्चित सैन्य अधिकारीले विदेश भ्रमण जानबाट रोक लगाउन अमेरिकाले आवश्यक पहल गर्नेछ। रासस/पीटीआई