PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

प्रदेश नं ३ मा सबैभन्दा बढी ३० लाख ७४ हजार मतदाता, कम ६ नम्बर प्रदेशमा 



पहिलोपोस्ट

प्रदेश नं ३ मा सबैभन्दा बढी ३० लाख ७४ हजार मतदाता, कम ६ नम्बर प्रदेशमा 
फाइल फोटो

नवलपरासी :  आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मुलुकभरीबाट कूल एक करोड ५४ लाख २७ हजार ९३६ मतदाता सहभागी हुन पाउने छन्। 

नवलपरासी(बर्दघाट सुस्ता) पश्चिमको जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नम्बर ३ मा ३० लाख ७४ हजार ४१२ मतदाता छन् भने सबैभन्दा कम प्रदेश नम्बर ६ मा कूल आठ लाख ४६ हजार ९४१ मतदाता छन्। 

प्रदेश नं ३ को १३ वटा जिल्लामा प्रतिनिधि सभाका लागि ३३ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि ६६ निर्वाचन क्षेत्र रहेका छन्। त्यस्तै सबैभन्दा कम मतदाता रहेको प्रदेश नं ६ को १० जिल्लामा प्रतिनिधि सभाका लागि १२ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि २४ निर्वाचन क्षेत्र कायम गरिएको छ। 

यसैगरी, कूल २९ लाख ९३ हजार ७२० मतदाता रहेको प्रदेश नं १ को १४ जिल्लामा प्रतिनिधि सभाका लागि २८ र प्रदेश सभाका लागि ५६ निर्वाचन क्षेत्र तोकिएको छ। 

कूल २७ लाख ६७ हजार ३९३ मतदाता रहेको प्रदेश नं २ को आठ जिल्लामा प्रतिनिधि सभाका लागि कूल ३२ र प्रदेश सभाका लागि ६४ निर्वाचन क्षेत्र तोकिएका छन्। 

यसैगरी, कूल १५ लाख ६८ हजार ९२७ मतदाता रहेको प्रदेश नं ४ को ११ जिल्लामा प्रतिनिधि सभाका लागि १८ र प्रदेश सभाका लागि ३६ निर्वाचन क्षेत्र कायम गरिएको छ भने कूल २७ लाख ४० हजार ८६९ मतदाता रहेको प्रदेश नं ५ को १२ जिल्लामा प्रतिनिधि सभाका लागि २६ र प्रदेश सभाका लागि ५२ निर्वाचन क्षेत्र तोकिएका छन्। 

त्यस्तै, कूल १४ लाख ३५ हजार ६७४ मतदाता रहेको प्रदेश नं ७ को नौ जिल्लामा प्रतिनिधि सभाका लागि १६ र प्रदेश सभाका लागि ३२ निर्वाचन क्षेत्र कायम गरिएको छ। 

संघीय संरचनाअनुरुप नेपालमा कूल ७७ जिल्लामा प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि ३३० निर्वाचन क्षेत्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell