
- संजीतकुमार मण्डल
कात्तिक पञ्चमीका दिनदेखि सुरु भई दश दिनसम्म यो पर्व चलेको थियो। शुक्रबार राति पूर्णिमाका दिन धुमधामका साथ विभिन्न नदी, पोखरी तथा ताल तलैयामा गएर सामाचकेवाको विसर्जन गरी यो पर्वको समापन भएको छ।
मिथिलाञ्चलमा दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ– आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दश दिनसम्म सामाचकेवा पर्व मनाएका थिए। कात्तिक पञ्चमीका दिन बिहानै मिथिलाञ्चलकी दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर सामाचकेवा बनाउनका लागि दाजुभाइको हातबाट माटो खनी ल्याएर सो माटोलाई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामाचकेवा बनाएका थिए।
सोही दिन बेलुका सामाचकेवा सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रंग भरेर रंगिचंगी बनाई दिदीबहिनीले सोही रातिदेखि सामाचकेवा पर्वको सुरुवात गरेका थिए।
रंगिसकेको सामाचकेवा दश दिनसम्म रातिको बेला रातो रंगको बाँसको डालामा राखेर दियोबाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनीक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर दश दिनसम्म गीतनाच गर्दै चेलीबेटीले सामाचकेवा खेलेका थिए।
समूहगत रुपमा चेलिबेटी तथा छोरीबुहारीले
गामके अधिकारी ‘तोहे बरका भैया हो,
भैया हातदश पोखरी खुनाइ दिय, चंपा फूल लगाइदिय हो’
‘सामचको सामाचकेवा ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ लगायतका गीत गाएर सामा चकेवा खेल्ने गरेका थिए। समूहमै सबैले सबैको दाजुभाइको दीर्घायुको कामना गर्दै सामाचकेवा पर्व खेलेका थिए।
हिजो बेलुका सामाचकेवालाई दही चिउरा खुवाएर त्यसलाई दाजुभाइबाट फुटाउन लगाएर बाजागाजा, नाचगानकासाथ दिदीबहिनीले सामाचकेवा विसर्जन गरेका छन्।
मिथिलाञ्चलकी दिदीबहिनीले सामाचकेवा पर्वलाई निक्कै मन पराउँछन् भने सामाचकेवा पर्वको बेला सबैले माइतीमा गएर यो पर्व मनाउने इच्छा राख्दछन्। सोहीअनुरुप यसपर्वमा टाढाटाढाबाट दिदीबहिनी सामाचकेवा खेल्नका लागि आ–आफ्ना माइतीमा जाने गर्दछन्।
मिथिलाञ्चलका विभिन्न पर्वमध्ये भाइबहिनीको प्रेमको प्रतीक मानिएका सामाचकेवा पर्व दाजुभाइ तथा दिदीबहिनी हुनेका लागि निक्कै महत्वपूर्ण मानिन्छ। दाजुभाइ तथा दिदीबहिनी नहुनेले टोल छिमेका दाजुभाइ तथा दिदीबहिनीसँग यस पर्वलाई मनाउने गर्दछन्।
सामा चकेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वास अनुरुप तराईको महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्लामा समेत यो पर्व लोकप्रिय छ। यी ठाउँमा यो पर्व हर्षउल्लासका साथ मनाउने गर्दछन्।
मिथिलाञ्चलमा छठ पर्वको एकदिन अघिदेखि नै सामाचकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गर्दछन्। यस पर्वमा स–साना नानी बढी उत्साहित रहने गर्दछन् भने वृद्धा महिलाले समेत यस पर्वको रमझममा आफूलाई रमाउन खोजेका हुन्छन्।रासस