
काठमाडौं : यू-१९ एसिया कप क्रिकेटको तयारीमा रहेको नेपाली युवा टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ।
बंगलादेश भ्रमणमा रहेको नेपाली यू-१९ टोली शनिबार घरेलु टोली बंगलादेश यू-१९ संग १२३ रनले पराजित भएको हो। पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो।
२२८ रनको लक्ष्य पछ्याएको नेपाल ३६.५ ओभरमा १०४ रनमा अलआउट भएको हो। बंगलादेश भ्रमणमा पहिलो खेल खेलेका बलर रसिद खानले नेपालको इनिङ्समा सर्वाधिक २४ रन बनाए। ४० बल खेलेका रसिदले २ चौका र १ छक्का प्रहार गरे।
यस्तै पवन सराफले बनाएको १६ तथा सन्दीप लमिछानेले नटआउट १३ रन जोडे। रसिदसंगै पहिलो खेल खेलेका प्रनित थापा मगरले १२ रन बनाए। ब्याट्सम्यान प्रनितले आठौं नम्वरमा ब्याटिङ गरेका थिए।
पहिलो खेलमा खेलेका दुई फास्ट बलर कमल सिंह ऐरी र किशोर महतोको स्थानमा शनिबार नेपालबाट ब्याट्सम्यान प्रनित थापा मगर र रसिद खानले खेलेका हुन्।
रसिद खान र सन्दीप लामिछानेले दशौँ विकेटका लागि ३७ रनको पार्टनरसिप गरे। जुन नेपाली इनिङ्सको सर्वाधिक पार्टनरसिप हो।
२९/५ र ४०/६ भएको अवस्थामा पवन र प्रनितले सातौँ विकेटका लागि २२ रनको साझेदारी गर्दै नेपालको इनिङ्स केही उकासेका थिए। त्यसमा रसिद र सन्दीपले गतिलो साझेदारी गर्दै नेपालको स्कोर सय रन कटाएका थिए।
२८.३ ओभरमा ६७ रन मात्र बनाउने क्रममा नेपालले ९ विकेट गुमाइसकेको थियो। तर नवौ नम्वरमा ब्याटिङ गरेका रसिद र एघारौँ नम्वरमा ब्याटिङ गरेका सन्दीप, यी दुई बलर मिलेर नेपाललाई फराकिलो हारबाट जोगाए।
बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। कप्तान दीपेन्द्र सिंह ऐरी र शहाब आलम शुन्यमै आउट भए।
त्यसअघि बिकेएसपिजीमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली बंगलादेशले कप्तान शैफ हसन र अफिफ होसेनको अर्भशतक मद्दतमा पूरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २२७ रन बनाएको थियो। शैफले बंगलादेशका लागि सर्वाधिक ६२ रन बनाए भने अफिफले ५९ रन जोडे। यस्तै तवहिद ह्रिदोएले २९ तथा नाएम शेखले २६ रन बनाए।
बलिङमा नेपालका कप्तान दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने बंगलादेशका ३ खेलाडी रनआउट भए।
यस्तै ब्याटिङमा सर्वाधिक रन बनाएका रसिदले ८ ओभर बलिङ गर्दै २ मेडन राखेर ६१ रन दिएका थिए।
नेपाल र बंगलादेशबीच तेस्रो तथा अन्तिम अभ्यास खेल भोली आइतबार हुनेछ।
मलेसियामा आगामी बिहिबारबाट शुरु हुने यू-१९ एसिया कपमा नेपाल, बंगलादेश, भारत र मलेसिया एउटै समूहमा छ।