
म्याड्रिड : स्पेनका एक जना न्यायाधीशले बर्खास्त गरिएका क्याटलोनियाका पृथकतावादी नेताहरुलाई पक्राउ गर्न आदेश दिएका छन्।
नेता कार्ल पुईग्डेमोन्टलाई अदालतमा उपस्थित हुन आदेश दिदा उपस्थित नभएपछि न्यायाधीशले उनीहरुलाई पक्राउ गर्न आदेश दिएका हुन्।
संविधानको उल्लङ्घन गरी आफ्नो क्षेत्रलाई छुट्टै राज्य बनाउन आन्दोलन गरेको विषयमा सोधपुछ गर्न न्यायाधीशहरुले उनीहरुलाई अदालतमा उपस्थित हुन आदेश दिएका थिए।
स्पेनले विद्रोह, देशद्रोह र सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोपमा मुद्दा चलाउने बताएपछि बर्खास्त गरिएका क्याटलोनियाका नेताहरु गत हप्ता बेल्जियम गएका छन्।
क्याटलोनियाका विद्रोही नेता पुईग्डेमोन्टसहित अन्य चार जना पनि अहिले बेल्जियममै रहेको बताएको छ।
उनीहरुलाई पनि केन्द्रीय सरकारले एक हप्ता अघि बर्खास्त गरेको थियो। अदालतले उनीहरुलाई पनि पक्राउ गर्न आदेश दिएको बताएको छ।
पक्राउ आदेश आउनु अघि बेल्जियमको एउटा टेलिभिजनलाई शुक्रबार अन्तवार्ता दिदै नेता पुईग्डेमोन्टले स्पेनको अदालतमा राजनीतिकरण भएको बताएका थिए।
राजनीतिक प्रभावमा परेको अदालतले निष्पक्ष निर्णय गर्न नसक्ने भएकाले न्यायको सुनिश्चितता नभएको उनको भनाई थियो। रासस/एएफपी