
काठमाडौं : १६ देखि २७ वर्ष उमेर समुहका युवतीहरुको सौन्दर्य तथा प्रतिभा प्रस्फुटन गराउने उदेश्यले आयोजना गर्न लागिएको सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल आइकन–२०१७’ को पहिलो चरणको अडिसन सम्पन्न भएको छ।
मंसिर १७ गते हुने ग्राण्ड फिनालेका लागि काठमाडौंमा सम्पन्न अडिसनबाट २० जना युवतीहरु छनोट भएका छन्। पहिलो चरणको अडिसनमा कोरियोग्राफर कला सुब्बा र गायक तथा संगीतकार धनीराम राई निर्णायकको रुपमा रहेका थिए।
ब्राइट इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको प्रतियोगिताबाट छनोट भएका प्रतिस्पर्धीहरुलाई यसै सातादेखि प्रशिक्षणमा सहभागि गराइने आयोजक संस्थाका प्रमुख धनीराम राईले जनाएका छन्। उनीहरु एक महिना लामो प्रशिक्षणमा सक्रिय हुनेछन्। त्यसक्रममा उनीहरुलाई क्याटवाक, व्यक्तित्व विकास, खेलकुदसहितका विधामा प्रशिक्षण दिइने छ।
प्रतियोगिताको कोरियोग्राफी कला सुब्बाले गर्नेछिन्। टुडिखेलमा आयोजना हुने ग्राण्ड फिनालेका विजेतालाई कार उपहार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ।
अडिसनबाट पास भएर प्रियंका पुरी, पुजा आङ्देम्बे, सलिना गुरुङ, सोफिया लिम्बु, आरती राई, निर्मला तामाङ, सञ्जु लिम्बु, साइना सुब्बा, देवी मगर, ईन्द्रा राई, ऐश्वर्य राई, इन्जिता राई, प्रभा राई, आइशा राई, रश्मी आले, सिमरन लामा, जस्मिन मानन्धर, लेना राई, सम्पूर्ण राई तथा मेरिना तुस्मा फिनालेका लागि छनोट भएका हुन्।