PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एउटा विवादास्पद कार्यक्रममा ओलीको प्रश्न : हामी संसदीय प्रणालीप्रति वफादार भइरहनुपर्छ भन्ने छ र?



अनन्तराज न्यौपाने

एउटा विवादास्पद कार्यक्रममा ओलीको प्रश्न : हामी संसदीय प्रणालीप्रति वफादार भइरहनुपर्छ भन्ने छ र?

विरागनगर :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले दुई तिहाई प्राप्त गर्ने र मुलुक राष्ट्रपतीय प्रणालीमा जाने स्पष्ट पारेका छन्।

मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङको आयोजनामा स्थानीय होटल ह्यारिसनमा भएको छलफल कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रपतीय प्रणाली लागू गर्न वाम गठबन्धन तयार रहेको जनाउ दिएका हुन्।

राष्ट्रपतीय प्रणालीमार्फत् वाम गठबन्धनले मुलुकमा अधिनायकवाद र सर्वसत्तावाद सहितको साम्यवाद ल्याउन खोजेको आरोप नेपाली कांग्रेसले लगाइरहेका बेला अध्यक्ष ओलीले राष्ट्रपतीय प्रणालीको स्थापना गरिने भनाइ दोहोर्‍याएका हुन्। 

‘हामी वामपन्थीले संसदीय प्रणालीप्रति सधैँ वफादार भइरहनु पर्छ भन्ने छ र? यस प्रणालीप्रति हामी कहिले वफादार थियौँ?’, तर्कपूर्ण प्रश्न गर्दै उनले भने, ‘विश्वभरिका लोकतान्त्रिक मुलुक हेर्नुहोस्, कतै संसदीय र कतै राष्ट्रपतीय प्रणाली विद्यमान छ। राष्ट्रपतीय प्रणाली हुँदैमा अधिनायकवाद र सर्वसत्तावाद आउने होइन। अमेरिकामा पनि यही प्रणाली छ।’

कार्यक्रम विवादास्पद

समानुपातिकतर्फको बन्द सूचीमा मधेशी कोटाबाट एक नम्बरमा परेका उद्योगपति मोती दुगडको सञ्चालनमा रहेको होटल ह्यारिसनमा गरिएको कार्यक्रम विवादग्रस्त भएको छ।

मोरङका दुई मुख्य उद्योग वाणिज्य सङ्घले कुनै पार्टीको प्रचार–प्रसारका लागि गरेको कार्यक्रम गरेको अनि व्यावसायिक सङ्गठनको मर्यादा र प्रतिष्ठा राख्न नसकेको टिप्पणी स्वतन्त्र पर्यवेक्षक र सहभागीले गरे।

कार्यक्रमका सबैजसो वक्ताले अध्यक्ष ओलीलाई ‘पूर्व प्रधानमन्त्री एवम् भावि प्रधानमन्त्रीज्यू’ भनेर सम्बोधन गरेका थिए। यसलाई चाकडीको नमुना भन्दै आलोचना गरिएको छ।

कार्यक्रम सकिनेबित्तिकै ब्यानर हटाएर विराटनगरका वरिष्ठ चिकित्सक ज्ञानेन्द्र गिरी र युवा उद्यमी अरुण राठीसहितका व्यक्तिलाई एमाले प्रवेश गराइएको थियो। अध्यक्ष ओलीले नवप्रवेशीलाई अबीर र माला लगाइदिएका थिए। पार्टी प्रवेश कार्यक्रमले पनि कार्यक्रमलाई थप विवादमा पारेको हो।

विराटनगरका प्रतिष्ठित व्यवसायी सहभागी भएको कार्यक्रमपछि कक्टेल डिनरको आयोजना गरिएको थियो।

मलाई फसाइयो : अध्यक्ष शारडा

कार्यक्रमबारे आलोचना हुन थालेपछि पूर्व सांसद् एवम् व्यापार सङ्घका अध्यक्ष पवनकुमार शारडाले आफू फसेको प्रतिक्रिया दिएका छन्। ओलीको कार्यक्रममा उनी सभापति थिए।

‘यस्तो प्रचारमुखि कार्यक्रम हुन्छ भन्ने जानेको भए व्यापार सङ्घ सहभागी हुने थिएन,’ अध्यक्ष शारडाको भनाइ थियो, ‘ओलीसमक्ष आर्थिक एजेन्डा प्रस्तुत गर्ने भनेर हामीलाई सहभागी गराइएको हो। खासमा उद्देश्य अर्कै रहेछ। हामी फसेका हौँ।’

कार्यक्रम सकिनेबित्तिकै त्यसको ब्यानर हटाएर त्यही मञ्चमा पार्टी प्रवेश गराइनु आपत्तिजनक र अमर्यादित भएको उनको आक्रोशयुक्त अभिव्यक्ति थियो।

आफू पनि कुनै पार्टीबाट ४ वर्ष सांसद् र सँगसँगै व्यापार सङ्घको अध्यक्ष एकै पटक भएको उल्लेख गर्दै उनले तर आफूले कहिल्यै पनि आफ्नो नेतालाई सङ्घमा ल्याएर पार्टीको प्रचार नगरेको स्पष्ट पारे।

लोकतान्त्रिक फोरम नेपाली कांग्रेस समायोजन भए पछि शारडा पनि काङ्ग्रेस गतिविधिमा संलग्न भइरहेछन्।

कार्यक्रम ठीक थियो : अध्यक्ष उपाध्याय

उद्योग सङ्गठनका अध्यक्ष मुकेश भट्टराई उपाध्यायले शुक्रबार साँझको कार्यक्रम आवश्यक र उचित भएको मूल्याङ्कन गरेका छन्।

कुनै पनि मुख्य राजनीतिक दलको प्रमुखलाई व्यवसायिका साझा एजेन्डाका बारेमा अवगत गराउनु अन्यथा होइन भन्ने जिकिर गर्दै अरू पार्टीका नेता आए भने उनीहरूसित पनि यस्तै कार्यक्रम गर्ने बताए।

उद्योग सङ्गठनमा वाम बाहुल्य

उद्योग सङ्गठनमा वामपन्थी विचार भएका पदाधिकारीको वर्चस्व भएकाले अध्यक्ष ओलीको प्रचारमुखि कार्यक्रम गरिएको टिप्पणी यहाँ गरिएको छ।

अध्यक्ष उपाध्याय आफै विराटनगरका पुराना वामपन्थीमध्ये एक हुन्। सङ्गठनका वरिष्ठ उपाध्यक्ष भीम घिमिरे र अर्का उपाध्यक्ष सुयश प्याकुरेल पनि एमालेमा आबद्ध छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell