काठमाडौं : भियतनामको हो चि मिन शहरमा भइरहेको एसियन वुमन इलाइट बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर ललिता महर्जन पदक जित्नबाट चुकेकी छिन्।
४८ केजी तौल समूहमा शनिबार भएको क्वाटरफाइनल खेलमा मंगोलियाकी जार्गन ओर्छिबाटसँग अंकको आधारमा पराजित भएपछि ललिता पदक जित्नबाट बञ्चित भएकी हुन्।
उक्त खेल ललिताले जितेको भए नेपालले कम्तीमा कांस्य पदक पक्का गर्ने थियो। ललिताले यसअघि सिगांपुरकी लिना हुँ जिन ईलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन्।
आइतबार हुने क्वाटरफाइनल खेलमा नेपालकी पुनम रावलले ६४ केजी तौल समूहमा थाइल्यान्डकी पेमालिन लाकपेनसँग प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ संघका सदस्य श्याम अवालेले जानकारी दिए।
नेपालका विमला श्रेष्ठ र संगीता सुनारले भने आफ्नो पहिलो खेलमै पराजय बेहोरेका थिए। विमलाले ५४ केजी तौल समूहमा र संगीता सुनार ६० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए।